पूर्व स्वास्थ्य मन्त्री पौडेल : वैद्यखाना सुधार गर्नेलाई सम्झिएनन्, आफै लिदैछन् जस

132
Shares

काठमाडौँ, २४ साउन । तत्कालीन स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अचेल हरेक दिन जसो फेसबुकबाट स्वास्थ्य क्षेत्रका विषयमा आफ्ना राख्न थालेका छन् ।

उनका धारणामा हेर्दा, सुन्दा अलिकति बिग्रिए जस्तो भएका जति अन्य सरकार र मन्त्रीका पालामा भएका र राम्रा सबै आफ्ना पालामा र त्यसमा पनि आफूले गरेको भन्ने जस्तो देखिन्छ । जुन आफैमा हास्यास्पद हो । त्यसको पछिल्लो उदाहरण सिंहदरबार वैद्यखानाको विषयमा उनले उठाएको प्रशंग हो ।

हिजो विहान प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका सकारात्मक पक्ष उठाउने क्रममा सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार हुँदै गएको, एक समय डुबेको सिंहदरबार वैद्यखाना पुन जुर्मुराएर उठेको जस्तो गरी सकारात्मक रुपमा प्रस्तुत गरेका थिए ।

आज विहानै तत्कालीन स्वास्थ्य मन्त्री पौडेलले सोही विषयलाई समात्दै वैद्यखानाको सफलताको श्रेय आफूले लिन खोजेका छन् । आफूले लिएको नीतिका कारण यो सफलता आएको उनको दावी छ । उनले फेसबुकमा प्रस्तुत गरेको टिप्पणीमा वैद्यखानालाई यसरी माथि ल्याउने न त्यहाँको नेतृत्व तहलाई बधाई दिएका छन् नत त्यहाँका कर्मचारीलाई सम्झेका छन् ।

खास कुरा के हो ?
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा महानिर्देशक रहेका डा. प्रदीप केसीलाई तत्कालीन स्वास्थ्य मन्त्री पौडेलले २५ कात्तिक २०८१ मा सिंहदरबार वैद्यखानामा निर्देशकको जिम्मेवारी दिएर सारे ।

पौडेलले त्यसबेला डा केसीलाई त्यहाँ सार्नुको उदेश्य वैद्यखाना सुधारका लागि भन्दा पनि आफ्नो राजनीतिक स्वार्थप्रेरित निर्णय थियो । एघारौँ तहका डा केसीलाई सोही तहको दरबन्दी भएको महानिर्देशक पदबाट हटाएर उनले १० औँ तहका डा श्यामबाबु यादवलाई निमित्त महानिर्देशक बनाएका थिए । यता वैद्यखानामा भने एघारौँ तहको दरबन्दी नै थिएन ।

डा. केसीले आफू पहिले पनि त्यहाँ गईसकेको दरबन्दी नै नभएको ठाउँमा गएर कसरी काम गर्ने भन्दै मन्त्रीलाई धेरैपटक अनुरोध गरेका थिए । तर पौडेलले उनको कुरा सुनेनन् ।

बरु एक महिना नपुग्दै आकस्मिक निरीक्षण गरे र सिंहदरबार वैद्यखानाको सुधार नगरेको भन्दै डा केसी माथि खनिएका थिए । त्यसको केही दिन पछि वैद्यखानाको बार्षिकोत्सव भयो, त्यहाँ पनि अनावश्यक रुपमा निर्देशक डा केसीमाथि लान्छना लगाएका थिए । डा केसी प्रति पौडेलले एकपक्षीय रुपमा पेलेको देख्दा मन्त्रालयकै अधिकारीहरु समेत अचम्ममा परेका थिए ।

जब कस्सिए डा. केसी
डा. केसीले जिम्मेवारी सम्हालेको एक महिना नहुँदै एक दिन वैद्यखानाको आकस्मिक अनुगमनमा आएका मन्त्री पौडेलले डा. केसीको नेतृत्व शैलीमाथि समेत गम्भीर प्रश्न उठाउँदै कडा निर्देशन दिएर फर्किए ।

सो भिडियो निकै भाइरल भयो । मन्त्री र उनका टिम खुशी देखिए । तर सुरु देखि नै मन्त्रीको पलानमा परेका डा. केसीले सोही दिन बेलुका कडा स्टाटस लेख्दै भने ‘ठिमाहा वीउ रोपेपछि धान कसरी फल्थ्यो र’ भन्दै जवाफ मात्रै फर्काएनन् उनले सिंहदरबार सुधारका योजना समेत फेसबुकबाटै सार्वजनिक गरिदिए ।

त्यसपछि डा केसी र तत्कालीन मन्त्री पौडेलबीच सम्बन्धमा झन् दरार देखियो । मन्त्रीको मुखमुखै लागे जसरी स्टाटस लेखेको भन्दै मन्त्री पौडेलको सचिवालयले निर्देशक डा केसी माथि स्पष्टिकरण समेत सोध्यो ।

वैद्यखानमा ठेक्का लिने तर आपूर्ति नगर्ने पुरानो प्रचलन रहेछ । डा केसीले वैद्यखानाको समस्याहरुको खोजीनीति गर्दा प्रमुख समस्या त्यहि पाए, त्यसपछि आपूर्ति नगर्ने ठेकेदारलाई तत्काल सामान पठाउन वा सम्झौँता रद्ध गर्ने लगायतका प्रक्रिया अघि बढाए, त्यसबेला फेरी मन्त्री पौडेलले ठेकेदारको पक्ष लिएको भन्दै डा केसीले गुनासो गरेका थिए । काम गर्नु पनि भन्ने तर प्रयास गर्दा बीचमा अवरोध गर्ने काम भयो भन्दै गुनासो गरेका थिए ।

फर्किएर जाने अवस्था पनि नभएको अवस्था देखेपछि निर्देशक डा. प्रदीप सुधारका योजना बनाएर कस्सिए ।

कर्मचारीहरुलाई साथ लिए, ठेकेदारमा देखिएको समस्या हल गरे । उत्पादन बढाउने प्रयासमा लागे । विस्तारै सफल भए । उत्पादित बस्तुहरु जीटूजी भन्दै स्थानीय तथा प्रदेश तहमा विक्री वितरणको सम्झौँता गरे ।

जव उत्पादन र विक्री वितरण बढ्न थाल्यो । कर्मचारीहरुको तलव सुनिश्चितता हुन थाल्यो, प्रोत्साहन मिल्यो, जाँगर बढ्यो ।

धेरै वर्ष पछि अहिले वैद्यखाना सुधारको गतिमा अघि बढेको मात्रै होइन हुईकिएको छ ।

डा केसी झण्डै यो सफलतालाई सामुहिक प्रयास भन्न रुचाउछन् ।

उनले प्रधानमन्त्रीबाटै आफ्नो संस्थाको सफलतालाई मानक जस्तै बनाएको भन्दै खुशी भएका छन् । उनले कसले सहयोग गरेको र कसले नगरेको भन्ने वहस भन्दा पनि सरकारी संस्था सुधार हुनुलाई प्राथमिकता दिएर अघि बढ्नु पर्ने बताउँछन् ।

‘वैद्यखानाको काँचुली फेर्नु पर्ने थियो । अब फेर्दैछ । यसमा हामी खुशी हुनु पर्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “पूर्व स्वास्थ्य मन्त्री पौडेल : वैद्यखाना सुधार गर्नेलाई सम्झिएनन्, आफै लिदैछन् जस

  1. 🌹डा प्रदीप के सी ले गर्नु भएको कार्य र वहाँ लाई भएको माथि भने झै अन्याय प्रति लेख्दै ,भन्दई आएको छु!
    अहिले धेरै राम्रो प्रगति भएको छ!
    Team त पक्कै हो Idea र Committment मुख्य कुरा हो!
    अहिले recognition भयो पुरष्कृत हुनु पर्छ!🌹🌹

Leave a Reply

Your email address will not be published. Required fields are marked *