विदेशका भन्दा उत्कृष्ठ छन् नेपालका मेडिकल तथा डेन्टल पढाउने शिक्षण संस्था

काठमाडौँ, २३ साउन । नतिजा पहिल्यै आएको भए पनि शुक्रबार (हिजो) नेपाल मेडिकल काउन्सिलले आफ्नो वेवसाइटमा गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षा (स्पेशल एक्जामिनेसन)को नतिजाको विस्तृत विवरण सार्वजनिक गर्यो ।
त्यसमा चिकित्सा शिक्षा तर्फ नेपालमा पोष्ट ग्राजुएट्स (पीजी) तहका अध्ययन गराउने सरकारी तथा निजी मेडिकल डेन्टल कलेज तथा प्रतिष्ठानहरुबाट पास आउट भई परीक्षामा सहभागी भएकाहरुको नतिजा एउटा पानामा थियो । अर्को पानामा विदेशका कलेजमा अध्ययन गरी पास आउट भई परीक्षामा सहभागी हुन आएकाहरुको नतिजा राखिएको थियो । यी दुई पानाले प्रष्ट पार्दथ्यो कि नेपालको चिकित्सा शिक्षा विदेशको भन्दा राम्रो छ ।
नेपालमा शिक्षाको गुणस्तरको कुरा गर्दा खासगरी चिकित्सा शिक्षा पढाउने निजी लगानीका मेडिकल तथा डेन्टल कलेजहरुको चर्चा हुने गरेको छ । तर पछिल्लो नतिजाले त्यो आशंकालाई टाढा पुरयाएको छ । नतिजाले देखाएको नेपालका निजी मेडिकल तथा डेन्टल कलेजहरुको गुणस्तर खास रुपमा कम छैन ।
नतिजा कस्तो आयो ?
गत साउनको ७ र ८ गते सञ्जालित विशेषज्ञ लाइसेन्स परीक्षामा नेपालका सरकारी तथा निजी मेडिकल तथा डेन्टल कलेज प्रतिष्ठानबाट पीजी उत्तीर्ण भएका ९१९ जना सहभागी थिए ।
त्यसमा ९०४ जना अर्थात ९८.३७ प्रतिशत उत्तीर्ण भए । पीजीको लाइसेन्स परीक्षामा आएको यो नतिजा नेपालको इतिहासमै सबैभन्दा राम्रो मध्येको एक हो ।
यस पटकको परीक्षामा नेपालका निजी तथा सरकारी गरी कुल २४ शिक्षण संस्थाबाट पास आउट भएका चिकित्सकहरुको थिए । त्यसमा ९ वटा सरकारी र १५ वटा निजी लगानीका शिक्षण संस्था थिए ।
त्यसमध्ये सरकारीबाट ४३५ जना सहभागी थिए । जसबाट ६ जना मात्रै अनुत्तीर्ण भएका थिए । यता निजीबाट ४८४ जना सहभागी भएकोमा ९ जना मात्रै अनुत्तीर्ण भएका हुन् ।

विदेशी कलेजको नतिजा कस्तो ?
काउन्सिलले गत ७ र ८ साउनमा लिएको विशेष परीक्षामा नेपालसहित १० वटा राष्ट्रबाट पीजी पुरा गरेका चिकित्सकहरु समावेश थिए । नेपालबाट पास आउट भएकाहरुको नतिजा ९८.३७ हुँदा अन्य देशबाट आउनेहरुको नतिजा भने राम्रो देखिएन ।
यसपटकको परीक्षामा नेपाल बाहेक सबैभन्दा बढी चीनबाट उत्तीर्ण गरेका ३७ जना चिकित्सक सहभागी थिए । ती मध्ये ८ जना ( २१.६२ प्रतिशत) मात्रै पास भएका छन् ।
यस्तै १९ जना इजिप्ट पास गरी आएका परीक्षार्थी मध्ये ८ जना (४२.११ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् । भारतबाट आएका १७ मध्ये १३ जना(७६.४७ प्रतिशत) फिलिपिन्स र काजाकिस्तानबाट समान ५ मध्ये २ (४० प्रतिशत) उत्तीर्ण भएका छन् । तर पाकिस्तानबाट ९ र अमेरिकाबाट पास आउट गरेका १ जना सहभागी भएकोमा सबै पास भएका छन् ।

हाम्रो पढाई अब्बल नै छ भन्ने त प्रमाणित भइरहेको छ: प्राडा ज्ञानेन्द्रमान सिंह कार्की
निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की नेपालका मेडिकल तथा डेन्टल कलेजहरुको गुणस्तर कस्तो छ भन्ने कुरा आएका नतिजाहरुबाट स्पष्ट भइरहेको बताए ।
‘चिकित्सा शिक्षा आयोगले सिट दिन्छ, विश्वविद्यालयले विद्यार्थी भर्ना गर्छ, पेपर बनाउँछ, परीक्षा लिन्छ र नतिजा निकाल्छ । विद्यार्थी पास हुन्छन् । फेरी काउन्सिलले क्रसचेक गर्छ लाइसेन्सको नाममा तर त्यहाँ पनि उसै गरी उत्तीर्ण हुन्छन् । हाम्रो पढाई कस्तो छ भनेर अब थप प्रमाणित गर्नु पर्ने हो र ?’ उनले भने ।
प्राडा कार्कीले पढाई मात्रै नभई मेडिकल तथा डेन्टल कलेजले दिईरहेको सेवा पनि उत्कृष्ठ भएको दावी गर्दछन् । ‘हामीले भनेका छौँ हाम्रो उपचार सेवाको पनि परीक्षण गरियोस, हामी उत्कृष्ठ सेवा दिई रहेका छौँ,’ उनले भने ।
प्राडा कार्कीले नेपालका खासगरी मेडिकल कलेजहरुमा गुणस्तर छैन, सिट बढाउन हुन्न भन्नेहरु कुनै न कुनै रुपमा विद्यार्थीलाई विदेश पठाउने गिरोहसंग साठगाठ भएको हुनसक्ने आरोप लगाए ।
‘हामी गुणस्तरमा कुनै कम्प्रमाइज गर्दैनौँ, आएर निरीक्षण गरिराख्नु, परीक्षा लिई राख्नु भनिरहेका हुन्छौँ । तर पनि निजीहरु ठिक होइनन् भन्ने भास्य बनाई राखिएको छ । जो नेपालकै मेडिकल शिक्षाका लागि दुर्भाग्य पनि हो । यसलाई बर्तमान सरकारले सच्याउन पर्छ,’ उनले भने ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



