नेपाली चिकित्सकहरुको संस्था पीएसआरएनद्धारा आणविक हतियारको अन्त्यका लागि विश्वव्यापी एकताको आह्वान

काठमाडौं, २१ साउन । ‘फिजिसियन्स फर सोसियल रेस्पोन्सिबिलिटी नेपाल’ (पीएसआरएन) ले बिहीबार हिरोसिमा दिवस मनाउँदै आणविक हतियारमुक्त विश्व निर्माणका लागि एकजुट हुन आह्वान गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ चिकित्सक स्वर्गीय प्राध्यापक मथुराप्रसाद श्रेष्ठको स्मरण गर्दै हिरोसिमा र नागासाकीमा भएको आणविक बम आक्रमणले मानव स्वास्थ्य, शान्ति र सभ्यतामा पारेको दीर्घकालीन असरबारे छलफल गरिएको थियो।
पीएसआरएनका अध्यक्ष प्राडा. गणेश गुरुङले सन् १९४५ अगस्ट ६ मा जापानको हिरोसिमा र अगस्ट ९ मा नागासाकीमा खसालिएका आणविक बमले मानव इतिहासकै सबैभन्दा ठूलो मानवीय विपत्ति निम्त्याएको उल्लेख गर्दै त्यसबाट विश्वले अझै पाठ सिक्नुपर्ने बताए। उनले स्वर्गीय प्राडा मथुराप्रसाद श्रेष्ठले जनस्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानको पनि स्मरण गरे।

पीएसआरएनका अगुवा डा. भरत प्रधानले सन् १९८४ मा संस्थाको स्थापना भएको उल्लेख गर्दै त्यसयता सामाजिक उत्तरदायित्व, जनस्वास्थ्य तथा शान्तिका पक्षमा निरन्तर गतिविधि सञ्चालन गर्दै आएको बताए। नेपालमा राजनीतिक परिवर्तनसँगै जनस्वास्थ्यका मुद्दामा बहस र पैरवी गर्न संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

कार्यक्रममा डा. वंशीधर मिश्रले हिरोसिमा–नागासाकी आक्रमणको स्वास्थ्य प्रभाव तथा आणविक हतियारको जोखिमबारे प्रस्तुतीकरण दिएका थिए। मानवअधिकारकर्मी सुशील प्याकुरेलले पनि पीएसआरएनले जनस्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गरेका थिए।

कार्यक्रममा चिकित्सक, जनस्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



