बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन, २१ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ ।
चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिए ।
टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो ।
उनका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक काम अघि बढ्ने छ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने छ । कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने तयारी चिनियाँ टोलीको तयारी छ ।
चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न करिब ३७ मिलियन चिनिया रकम खर्च गर्दै छ । नेपाली रुपैयाँ अनुसार यो करिब रु ८४ करोड हुन आउने उनले जानकारी दिए ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ ।
यसअघि नेपाल सरकार र चीनको चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का बीच सम्झौता भइसकेको छ ।बोनम्यारो युनिट पाँच श्ययाको हुनेछ ।
उनका अनुसार सुरुमा पुरानो भवनमा युनिट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यो सम्भव नहुने भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन बनाउने ठाउँको माटो परीक्षणलगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् ।
बोनम्यारो युनिटमा काम गर्नका लागि हाल अस्पतालका तीन जना चिकित्सक र नर्स चीनमा तालिम लिईरहेका छन् ।
कार्यकारी निर्देशक डा पौडेलले भने “‘बोनम्यारो’ प्रत्यारोपणका लागि यसअघि नै तीन स्वास्थ्यकर्मी जनाले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम लिएर फर्किएका छन् । ”त्यहाँ काम गर्ने जनशक्तिलाई चीन सरकारको तर्फबाट थप आवश्यक तालिम दिइँदै छ । उनीहरुले निर्माण थालेको एक वर्ष छ महिनामा काम सम्पन्न गर्ने तयारी गरेको जनाइएको छ ।
यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने कार्यकारी निर्देशक डा पौडेलको दावी छ ।
अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् । यहाँ यो सेवा सुरु भएसँगै कम खर्चमा बिरामीहरुले उच्चस्तरको सेवा पाउने उनी बताउछन् ।
विसं २०५१ मा चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चिनियाँ चिकित्सकले समेत बिरामीको उपचार गरिरहेका छन् ।
यहाँ नेपाल सहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



