केडीसीद्वारा सेरेब्रल पाल्सी प्रभावित बालबालिकाको निःशुल्क दन्त परीक्षण

ललितपुर, २० साउन । सेरेब्रल पाल्सीबाट प्रभावित बालबालिकाहरुको निशुल्क दन्त परीक्षण भएको छ । बीएम फाउन्डेसन र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल (केडीसी) को संयुक्त आयोजना तथा रोटरी क्लव अफ काठमाडौँ नर्थको सहयोगमा धापाखेलस्थित सेरेब्रल पाल्सी नेपालमा रहेका ५१ जना बालबालिकाको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार परीक्षण गरिएका अधिकांश बालबालिकामा दाँत किराले खाने (डेन्टल क्यारिज) समस्या बढी देखिएको थियो ।
सो अवसरमा चिकित्सकहरुले मुख तथा दन्त स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने बारेमा समेत बताएका थिए । उनीहरुले समयमै दन्त परीक्षण, नियमित मुख सरसफाइ तथा उचित उपचारमा ध्यान दिए यस्ता समस्यालाई न्यूनीकरण गर्न सकिने उल्लेख गरेका थिए ।

शिविरमा सहभागी बालबालिका, शिक्षक तथा उनीहरुका अभिभावकलाई मुख स्वस्थ राख्ने उपाय, मुख सरसफाइको महत्त्व तथा दन्त रोगबाट बच्ने उपायबारे जानकारी दिइनुका साथै सही तरिकाले दाँत माझ्ने विधिको व्यावहारिक प्रदर्शनसमेत गरिएको थियो।
सेरेब्रल पाल्सीबाट प्रभावित बालबालिका विशेष आवश्यकता भएका बालबालिकाको सूचीमा पर्दछन् ।
यस्ता बालबालिकाहरुमा मुख स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, समयमै दन्त रोगको पहिचान गर्नु तथा गुणस्तरीय दन्त स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको डा. श्रेष्ठले बताए ।

के हो सेरेब्रल पाल्सी ?
सेरेब्रल पाल्सी मस्तिष्कको विकासका क्रममा वा जन्मअघि, जन्मको समयमा अथवा जन्मपछिको प्रारम्भिक अवस्थामा मस्तिष्कमा हुने क्षतिका कारण देखिने स्नायुसम्बन्धी दीर्घकालीन अवस्था हो। यसले व्यक्तिको शरीरको चाल, सन्तुलन, मांसपेशीको नियन्त्रण तथा समन्वयमा असर पार्छ।
यो कुनै संक्रामक वा सर्ने रोग होइन, त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन।
समयमै पुनर्स्थापना सेवा, फिजियोथेरापी, नियमित स्वास्थ्य हेरचाह तथा परिवारको सहयोगबाट सेरेब्रल पाल्सी भएका व्यक्तिको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिने चिकित्सकहरु बताउँछन् ।
सेरेब्रल पाल्सी जस्ता ‘स्पेशल निड्स चिल्ड्रेन’का लागि कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा उपचार गर्नका लागि स्पेशल सेन्टर रहेको छ । रोटरी क्लव अफ उकु ताइवानको सहयोगमा केडीसीले सो सेन्टर सञ्चालनमा ल्याएको हो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



