दक्षिण पूर्वी एशियाका राष्ट्रिय औषधी नियामक निकायहरुको क्षेत्रीय सञ्जाल ‘एसईएआरएन’को १० औँ वार्षिकोत्सव नेपालमा मनाईँदै

स्वास्थ्य प्रणाली र औषधी नियमन सुदृढ गर्न क्षेत्रीय सहकार्यमा जोड
28
Shares

काठमाडौँ, १९ साउन । दक्षिण पूर्वी एशियाका राष्ट्रिय औषधी नियामक निकायहरुको क्षेत्रीय सञ्जाल (साउथ इष्ट एशिया रेगुलेटोरी नेटवर्क-एसईएआरएन)को १० औँ बार्षिकोत्सव तथा सदस्य राष्ट्रहरुको सभा मंगलबार काठमाडौँमा सुरु भएको छ ।

एशियाली विकास बैंक (एडीबी) विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालय, एसईएआरएन र कोरिया ई एसिया फण्डको सहकार्यमा आयोजित दुई दिने सभाको आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उद्घाटन गरेकी छन् ।

एसईएआरएनले औषधी तथा अन्य स्वास्थ्य सम्वन्धी उत्पादनको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न सदस्य राष्ट्रहरुबीच सहकार्य, अनुभव आदानप्रदान तथा क्षमता अभिबृद्धिमा काम गर्दै आएको छ । कार्यक्रममा यस क्षेत्रका सदस्य राष्ट्रहरुको नियामक निकायका प्रतिनिधिहरुसंगै अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री मेहताले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न क्षेत्रीय सहकार्य, नवप्रवर्तन र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउनुपर्ने बताइन्।

उनले पछिल्लो एक दशकमा नेपालले मातृ स्वास्थ्य, प्राथमिक स्वास्थ्य सेवा विस्तार तथा सार्वभौमिक स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै स्वास्थ्य प्रणाली, आपूर्ति शृङ्खला तथा आपत्कालीन तयारीका क्षेत्रमा अझै जटिल र अन्तरसम्बन्धित चुनौती रहेको जानकारी दिईन । ती चुनौतीको समाधानका लागि रोग निगरानी प्रणाली, स्वास्थ्य जनशक्ति विकास, डिजिटल स्वास्थ्य तथा खाद्य सुरक्षा मापदण्डमा सदस्य राष्ट्रबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा उनको जोड थियो ।

‘नवप्रवर्तन र पारस्परिक विश्वासमा आधारित सहकार्यबाट मात्रै हामी स्वास्थ्य प्रणालीलाई थप उत्थानशील बनाउन, असमानता घटाउन र क्षेत्रका सबै नागरिकको स्वास्थ्य अवस्था सुधार्न सफल हुनेछौं,’ उद्घाटन मन्तव्यका क्रममा उनले भनिन् ।

मन्त्री मेहताले विगत एक दशकका उपलब्धिको समीक्षा गर्दै आगामी वर्षका प्राथमिकता निर्धारण गर्ने र बलियो नियामक सहकार्यमार्फत सार्वजनिक स्वास्थ्य प्रवर्द्धन गर्ने अवसरका रूपमा यस सभालाई उपयोग गर्नुपर्ने धारणा राखिन्। आगामी दुई दिनको छलफलबाट व्यवहारिक कार्ययोजना, नयाँ साझेदारी तथा क्षेत्रीय र विश्वव्यापी स्वास्थ्य एजेन्डालाई योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरिन्।

यता कार्यक्रमबारे जानकारी दिँदै औषधी व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले सभाअन्तर्गत विभिन्न प्राविधिक विषयमा सदस्य राष्ट्रका प्रतिनिधि सम्मिलित टेक्निकल वर्किङ ग्रुपमार्फत वर्षभरि काम हुने बताइन्।

उनका अनुसार औषी सुरक्षा (फार्माकोभिजिलेन्स), गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम), नियामक प्रणाली सुदृढीकरणलगायत विषयमा प्राविधिक समूहले विस्तृत छलफल गरी मस्यौदा तथा सिफारिस तयार पार्नेै र ती प्रस्ताव स्टेयरिङ कमिटीमा पेश भई अनुमोदन हुने व्यवस्था रहेको उनले जानकारी दिइन्।

खड्गीका अनुसार वार्षिक सभामा विगत एक वर्षमा भएका गतिविधि, उपलब्धि र प्रगतिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गरिन्छ।

 

उनले यस वर्षको सभाको प्रमुख एजेन्डामध्ये घरेलु औषधी उत्पादनलाई दिगो र प्रतिस्पर्धी बनाउने विषय रहेको बताइन्। नियामक नियकाबीचको समन्वय मार्फत स्थानीय औषधी उद्योगलाई कसरी थप सुदृढ बनाउने र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्द्धन गर्ने भन्ने विषयमा विज्ञहरूले प्रस्तुति दिने उनले जानकारी दिइन्।

कार्यक्रममा ८० जना बढी विदेशी प्रतिनिधिहरु छन् । त्यसमा दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रसँगै अफ्रिकी मुलुकका प्रतिनिधिहरूले पनि सभामा सहभागिता जनाएका छन्।

दुई दिनसम्म सञ्चालन हुने सभामा औषधी नियमन प्रणाली सुदृढीकरण, औषधीको गुणस्तर तथा सुरक्षा, घरेलु औषधी उत्पादन, नियामक समन्वय, डिजिटल स्वास्थ्य, आपूर्ति शृङ्खला व्यवस्थापन तथा क्षेत्रीय सहकार्यका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

हाल नेपालले एसईएआरएनको अध्यक्षता गरिरहेको छ।  विभागकी निमित्त महानिर्देशक खड्गी सञ्जालकी वर्तमान अध्यक्ष हुन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *