दाङमा एन्टीस्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचारमा समस्या

काठमाडौँ, १७ साउन । दाङ जिल्लामा एन्टीस्नेक भेनम अभाव भएपछि सर्पदंशका बिरामीको उपचार सेवा प्रभावित भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल, गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौज्दात अत्यन्त न्यून छ । अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था छ ।
प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ ।
वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टीस्नेक भेनम अभाव भएपछि स्वास्थ्यकर्मी र बिरामी दुवै चिन्तित बनेका छन् ।
स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
सर्पदंशबाट बच्ने उपाय :
– घर तथा खेल मैदानवरिपरि सफा राखौँ, झाडी, ढुंगा, हिलो र पातको थुप्रो नराखौँ
– खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाऔँ
– राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गरौँ
– ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बनौँ, केटाकेटीलाई सर्प हुन सक्ने इलाकामा जानबाट रोक्ने
– आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राखौँ, भुइँमा सुत्न छाडौँ
– झुल टाँगेर मात्र सुत्ने गरौँ
– पालभित्र सुत्ने हो भने राम्ररी ढोका बन्द गरेर मात्र सुतौँ
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
