‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प वाक-२०२६’ सम्पन्न

20
Shares

ललितपुर, १७ साउन । ‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प वाक-२०२६’ सम्पन्न भएको छ। क्यान्सरलाई पराजित गरी सामान्य जीवनमा फर्किएका व्यक्तिहरूको आत्मविश्वास, साहस र प्रेरणादायी यात्रालाई सम्मान गर्ने उद्देश्यले शनिबार आयोजित सो र्‍याम्प वाक’ मा १०० भन्दा बढीले सहभागिता जनाएका थिए ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालको सहकार्यमा नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

ललितपुरको एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्डमा आयोजित ‘र्‍याम्प वाक’मा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभरले आत्मविश्वासका साथ र्‍याम्पमा प्रस्तुति दिएका थिए। उनीहरूको सहभागिताले क्यान्सर अन्त्य नभई उपचारपछि पनि नयाँ जीवन सुरु गर्न सकिने सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, माइती नेपालकी संस्थापक अनुराधा कोइराला सहभागी थिइन्। यस्तै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, चिकित्सक, स्वास्थ्यकर्मी, क्यान्सर विजेता तथा उनीहरूका परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमकी परिकल्पनाकार, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरुपा श्रेष्ठले सन् २०१९ मा पहिलो पटक क्यान्सर सर्भाइभर र्‍याम्प शो आयोजना गरिएको स्मरण गर्दै यसको उद्देश्य क्यान्सरका बिरामीमा आत्मबल बढाउनु, उपचारप्रति सकारात्मक सोच विकास गर्नु तथा समाजमा रहेको डर, भ्रम र विभेद अन्त्य गर्नु रहेको बताइन्।

उनले यस्ता कार्यक्रमले क्यान्सर विजेताहरूलाई आफ्ना अनुभव खुला रूपमा साझा गर्ने अवसर प्रदान गर्नुका साथै उपचाररत बिरामीमा पनि नयाँ आशा जगाउने विश्वास व्यक्त गरिन्।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माले क्यान्सर सर्भाइभरहरू सिर्जनात्मक गतिविधिमा सहभागी हुन रुचाउने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई समाजसँग अझ नजिक जोड्ने र मानसिक रूपमा थप सशक्त बनाउने बताए। उनले क्यान्सर जितेका व्यक्तिहरूलाई समाजले सम्मानका साथ स्वीकार गर्नु आवश्यक रहेको धारणा राखे।

 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा वरिष्ठ मेडिकल अङ्कोलोजिस्ट डा. सुदीप श्रेष्ठले क्यान्सरलाई मृत्युको पर्यायका रूपमा हेर्ने पुरानो सोच परिवर्तन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले समयमै पहिचान र उचित उपचार गरे क्यान्सर निको हुन सक्ने रोग भएको उल्लेख गर्दै र्‍याम्पमा सहभागी क्यान्सर विजेताहरू समाजका लागि प्रेरणाका स्रोत भएको बताए।

उनले उपचारपछि पनि गुणस्तरीय, सक्रिय र सम्मानजनक जीवन बाँच्न सकिन्छ भन्ने सन्देश यस्ता कार्यक्रमले प्रवाह गर्ने उल्लेख गर्दै नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार सेवा उपलब्ध भएकाले ढिलो नगरी परीक्षण र उपचारमा जान सबैलाई आग्रह गरे।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *