आईसीयूमा भर्ना नगरिदिएको भन्दै बिरामीको आफन्तद्धारा भक्तपुर अस्पतालमा ‘लफडा’

84
Shares

काठमाडौँ, १५ साउन । घटना गत बुधबार रातीको हो । जुन दिन  बेलुका  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकार पक्षबीच सहमति भएको थियो ।

गम्भीर अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गरेर उपचार गर्नु पर्ने भन्दै भक्तपुरस्थित भक्तपुर प्रादेशिक अस्पतालमा बिरामीका आफन्तहरुले रातभर लफडा गरेका हुन् । उनीहरुले आईसीयू हुँदा हुँदै पनि भर्ना नलिएको, उपचार सेवा दिन नखोजेको आरोप थियो ।

तर, अस्पतालको अवस्था भने अर्कै थियो ।

भक्तपुर  अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा अनसार बुधबार राती साढे ११ बजे तिर काभ्रे तिमाल घर भएर सुर्यविनायक बस्ने -८२ वर्षीय एक जना दमका बिरामी (जो सोही दिन दिउसो एचडीयूबाट डिस्चार्ज भएका थिए) लाई पुन: गाह्रो भएपछि ल्याएका थिए । उनीहरुले ल्याउनासाथ आइसीयूमा राख्न भन्न थाले । अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले ती बिरामीलाई  अन्यत्र लैजान आग्रह गरेका थिए । त्यसपछि उनीहरुले लफडा सुरु गरेका हुन् ।

डा. झाले भने,  ‘साउन देखि जनशक्ति कटौतीमा परेको छ, ११ जना नर्स हटाइएको छ । त्यसैले हामीले कुल सात वटा आइसीयू मात्रै सञ्चालन गर्दै आएका थियौँ । त्यसमा पनि एउटा आकस्मिक कक्षमा रहेको छ । सबै फुलफिल छ । तर उहाँहरुले जवरजस्ती आफ्नो बिरामीलाई आईसीयूमा भर्ना गरी उपचार गर्न भन्न थाल्नु भयो । बेड छैन भन्दा हामीले देखेका छौँ भन्न थाल्नु भयो । भित्रै जानु भयो त्यसपछि धकेलाधकेल र हल्का तोडफोडको अवस्था सिर्जना भयो । त्यो भन्दा बढी रातभर हो हल्ला र आतंक सिर्जना भयो । आइसीयूमै राखि हाल्नु पर्ने अवस्थाको केश होइन भनेर चिकित्सकले सम्झाउनु भएको थियो तर उहाँहरु मान्ने पक्षमै देखिनु भएन ।’

डा. झाका अनुसार सुरुमा बिरामीसँगै दुई जना पुरुष र दुई जना महिला आएका थिए । पछि विवाद बढेपछि उनीहरुका अरु २५-३० जना आफन्त आएका थिए ।

‘हामीले उपचारका लागि समन्वय गरेर बिरामीलाई राती नै नजिकैको नेपाल कोरिया मैत्री अस्पताल पठायौँ । तर त्यसबीचमा खासगरी दुई जना महिलाहरु अलि उग्र हुनुहुन्थ्यो । उहाँहरुले जथाभावी बोल्ने, तोडफोड गर्ने र स्वास्थ्यकर्मीहरुमा माथि सिजरले प्रहार गर्ने सम्मको हरकत गर्नु भयो । हामीले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा तत्काल जानकारी गराएका थियौँ । त्यसले गर्दा ठूलो दुर्घटना भने हुन पाएन,’ डा. झाले भने ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले हो- हल्ला गर्नेहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्न माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *