स्वास्थ्यमा स्विकृत भएर आयो नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम):

‘अतिरिक्त स्वास्थ्य सचिव पदहरु हट्यो, मन्त्रालयको दरबन्दी भारी मात्राले घट्यो’

मन्त्रालयका महाशाखाहरु चारवटा कायम
1.7k
Shares

काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्विकृत गरी पठाएको नयाँ संगठन संरचनामा पहिलेको भन्दा १७ जना कम दरबन्दी रहेको छ । त्यसमा तल्लो तहका कर्मचारी देखि सहसचिव तहसम्मको दरबन्दी हटेको छ ।

मन्त्रालयको उच्च स्रोतका अनुसार नयाँ दरबन्दीमा स्वास्थ्य मन्त्रालयमा रहेको दुईवटा अतिरिक्त सचिव पद र पुल दरबन्दीमा राखिएको थप एक अतिरिक्त सचिव गरी तीनवटा अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२ औँ तह) का पदहरु खारेज गरिएको छ ।

यसअघि मन्त्रालय भित्र पाँचवटा महाशाखा रहे पनि एउटा हटाइएको छ । बाँकी रहेका चारवटा मध्ये केहीको नाम परिवर्तन गरिएको छ । नयाँ संगठन तथा व्यवस्थापन संरचनामा स्वास्थ्य मन्त्रालय भित्र स्वास्थ्य खाद्य स्वच्छता तथा औषधी गुणस्तर नियमन महाशाखा, नीति योजना तथा अनुसन्धान महाशाखा, स्वास्थ्य समन्वय तथा सूचना प्रविधि महशाखा र प्रशासन महाशाखा बनाइएको छ । यसअघि रहेको जनसंख्या व्यवस्थापन महाशाखा खारेजीमा परेको छ ।

यसअघि मन्त्रालयमा सचिव सहित १०८ जनाको दरबन्दी थियो । तर अहिले त्यो घटेर ९१ जनामा झरेको स्रोतले बताएको छ ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले पनि नयाँ ओएण्ड एम स्वीकृत भएर आएको पुष्टि गरे । उनले भने, ‘सामान्यबाट स्विकृत भएर हामीकहाँ आइसकेको छ । हामीले नयाँ अध्यावधिक दरबन्दी विवरणहरु निजामती किताव खाना तर्फ पठाउनु पर्ने छ । त्यहाँबाट आइसकेपछि हामी सार्वजनिक गर्नेछौँ । यो काम छिटै हुनेछ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *