आन्दोलनरत चिकित्सक र सरकारबीच अनौपचारिक छलफल निरन्तर, आज होला सहमति ?
काठमाडौँ, १३ साउन । कार्यस्थलमा आफ्नो सुरक्षालाई केन्द्रविन्दुमा राखेर आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले देशव्यापी रुपमा आकस्मिक बाहेक स्वास्थ्य संस्थाको बन्दको आव्हान गरेको दुई दिन भईसक्यो । यसबाट हजारौँ बिरामीहरु प्रत्यक्ष रुपमा प्रभावित भइरहेका छन् ।
आन्दोलन अझै कति दिन लम्बिन्छ वा टुंगिन्छ, अहिलेसम्म यसै भन्न सकिने अवस्था पनि छैन । तर सरकारी पक्षले छिटै सहमतिमा पुगेर चिकित्सकहरु काममा फर्किने अनुमान गरेको छ ।
आन्दोलन लम्बिदै जाँदा यसको नेतृत्व गरेको नेपाल चिकित्सक संघ र सरकारी पक्षको नेतृत्व गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आजै मात्र थुप्रै अनौपचारिक छलफल भएको छ ।
तर त्यसलाई एकीकृत गरि निष्कर्षमा पुग्न सकिएको छैन । सरकारले आन्दोलनरत पक्षहरुले उठाएका जति मागलाई सम्वोधन हुने आश्वासन दिएको छ तर चिकित्सकहरुले विगतमा भएका सहमतिको कार्यान्वयनको अवस्थालाई फर्केर हेर्न भनिरहेका छन् । यसले गर्दा औपचारिक बार्ताको समय घर्किदै गएको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले आन्दोलनरत चिकित्सकहरुले उठाएको मागका सन्दर्भमा सरकार गम्भीर रहेको भन्दै त्यी विषयलाई सम्वोधन गर्न विभिन्न पक्षसंग अनौपचारिक छलफल भएको बताए । ‘हामी स्वास्थ्य र चिकित्सक संघ मात्रै छैन, यहाँ अरु थुप्रै मन्त्रालय जोडिएको छ, अरु थुप्रै स्वास्थ्यकर्मीको संगठनका आवाज पनि सुनिनु पर्नेछ । त्यसैले होलिस्टिक रुपमा यसलाई समाधान तर्फ लैजाने प्रयास गरिएको छ । आशा गरौँ छिटै यसमा सम्वोधन हुनेछ ।’
यता नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा सञ्जीव तिवारीले सरकारले विगतमा थुप्रै सहमति र सम्झौँता गरेको भन्दै अव हुने सम्झौँता र सहमतिका विषयमा कार्यान्वयन नभए के हुने भन्ने विषय पहिले टुंगो लाग्नु पर्ने बताउँछन् ।
उनले बिरामीहरुले दुख पाइरहेको कुरा आफूहरुले राम्ररी बुझेको, यसमा सम्वेदनशील भएर आकस्मिक सेवालाई निरन्तरता दिएको भन्दै आफै असुरक्षित भएर भने सेवा दिन गाह्रो हुने बताए । उनले पनि मागका विषयमा अनौपचारिक छलफल भइरहेको भन्दै निस्कर्षमा पुग्ने विषयमा केही थाहा नभएको प्रतिक्रिया दिए ।
चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै दीर्घकालीन सुधारको तयारीमा
यता स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा विश्वास,सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको बताएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ुशून्य सहनशीलताको नीति दोहोर्याउँदै सुरक्षित,व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्रता दिएको जनाएको छ।
नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिने उद्देश्यले आवश्यक नीतिगत,कानुनी तथा संस्थागत सुधारका विषयमा सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वय गरिरहेको जनाएको छ।
यसका लागि मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति मार्फत सम्बन्धित सबै सरोकारवाला निकायसँग चरणबद्ध बैठक तथा परामर्शलाई निरन्तरता दिएको समेत उल्लेख गरको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनी,नीतिगत तथा संस्थागत सुधारका विषयमा गृह मन्त्रालय,नेपाल मेडिकल काउन्सिल,नेपाल नर्सिङ परिषद्,नेपाल चिकित्सक सङ्घ,नेपाल स्वास्थ्य प्राविधिक सङ्घ,नेपाल आयुर्वेद चिकित्सक सङ्घ,नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल लगायतका निकायसँग निरन्तर छलफल भइरहेको छ ।
मन्त्रालयका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,र बिरामीले गुणस्तरीय उपचार नपाएसम्म स्वास्थ्य प्रणालीप्रतिको विश्वास कायम रहँदैन। त्यसैले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुने लापरवाहीलाई कानुनबमोजिम निष्पक्ष र प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था सुदृढ बनाइनेछ।
साथै,मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई परिमार्जन गरिरहेको जनाएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
