भोली पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, १२ साउन । चिकित्सक माथि कुटपिट भएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले अस्पताल बन्दको क्रमलाई भोली बुधबार पनि निरन्तरता दिने भएको छ ।
संघमा आज बसेको केन्द्रीय कार्यसमितिसंगै पूर्व पदाधिकारी, विभिन्न अस्पतालका निर्देशक, आवासीय चिकित्सक तथा विशेषज्ञ समाजका प्रतिनिधि सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।
यो निर्णयसंगै आम सर्वसाधारण बिरामीलाई भने थप कष्ट बेहोर्नु पर्ने छ ।
संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कार्वाही गर्न माग गरेको भए पनि स्थानीय प्रशासनले उदाशिनता देखाएको आरोप लगाएको छ ।
संघले घटना घटेको ४ दिन वितिसक्दा समेत दोषीलाई कानून बमोजिम मुद्दा दायर गरी कार्वाही नहुनु र पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि उल्टै दमन गरेको समेत आरोप लगाएको छ । बार्तामा गएका आफ्ना सहकर्मी माथि पर्साका प्रजिअ र प्रहरी प्रमुखले दुर्वहार गरेको समेत आरोप समेत उसले लगाएको छ ।
संघले सरकार, मानव अधिकार, उपभोक्ताको अपिल सुनेन
वीरगञ्ज घटनाको विरोधमा संघले आज पनि आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको थियो । सेवा बन्द हुँदा उपचारका लागि गएका हजारौँ बिरामीहरु मर्कामा परेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगले आज गरेको स्थलगत अनुगमनले धेरै बिरामीले सास्ती व्यहोरेको, उपचार पाउने नैसर्गिक अधिकारबाट बञ्चित भएको भन्दै बन्दको विकल्प सोच्न आव्हान गरको थियो ।
यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि घटनामा सम्लग्नको खोजी कार्य भइरहेको भन्दै उपचार सेवा सुचारु गर्न भनेको थियो ।
उता उपभोक्ता हित संरक्षण मञ्चले नागरिकको उपचार पाउने अधिकारमाथि चिकित्सकहरुले कुठाराघात गर्न नहुने भन्दै नियमित सेवा उपलव्ध गराउनु पर्ने बताएको थियो ।
तर चिकित्सकहरुले बिरोधलाई जारी मात्रै राखेनन् आजको विरोधको शैलीलाई पनि निरन्तरता दिए ।
उनीहरुले अत्यावश्यक बिरामीहरुको सेवा आकस्मिक कक्षबाट उपलव्ध हुने भन्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म नियमित काममा नफर्किने बताउँदै आएका छन् ।
त्यसो त नेपाल चिकित्सक संघले सरकारमाथि थोरै दवाव बढाउनु पर्ने वित्तिकै आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरि नै हाल्ने गरेको छ । यो विगत देखि कै प्राक्टिस हो । तर, उसले त्यसरी आन्दोलन गर्दा आम बिरामीलाई पर्ने मर्काबारेमा भने सधै जसो नै वेवास्ता गर्दै आएको छ । यसले बिरामी डाक्टर सम्वन्धलाई झन् झन् कमजोर बनाउदै गएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
