आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग संवोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न काँग्रेस सभापति गगन थापाको अपिल

काठमाडौँ, १२ साउन । नेपाली काँग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग सम्वोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न सरोकारवाला पक्षसंग अपिल गरेका छन् ।
गत शनिबार (९ साउनमा) वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडलाई दुखद र निन्दनीय भन्दै उनले नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थयकर्मीहरु यसरी असुरक्षित हुने अवस्था स्विकार्य हुन नसक्ने बताए ।
सभापति थापाले समाधानका तीन उपाय पनि बताएका छन् ।
हेर्नुहोस गगन धारणा र उपायहरु:
यही साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय छ। नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यबहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।
यस घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघ लगायतको आव्ह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने विषम परिस्थिति सिर्जना भएको छ। आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय हो।यस्तो परिस्थिति अहिलेमात्र भएको होइन।
त्यसैले यसतर्फ तत्कालिन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्नु हुँदैन।
१. विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दवाव र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अत: यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गरियोस्। वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।
२. नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।
३. स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र विरामीको अबस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादवाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघ लगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
