नारायणी अस्पताल घटनाका घाइते चिकित्सक डा. रामलाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइयो

36
Shares

काठमाडौं, ११ साउन । नारायणी अस्पतालमा गत शनिबार भएको आक्रमणमा परि गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। त्यहाँ उनको टाउकोमा लागेको चोटको परीक्षण तथा उपचार भईरहेको छ ।

‘अवस्था खतरामुक्त छ । तर टाउकोमा लागेको चोटका कारण हामीले अब्जरवेसनमा राखेका छौँ,’ उपचारमा सम्लग्न एक जना चिकित्सकले भने ।

डा. रामलाई आज दिउसो साढे १ बजे ट्रमा सेन्टर ल्याइएको हो ।

यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । सो क्रममा उनले उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।

यता मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।

मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न अनुरोध गर्दै अस्पतालमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको बताएकी छन् ।

यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *