कान्तिपुर डेन्टल कलेजमा लेजर डेन्टिस्ट्रीसम्बन्धी वैज्ञानिक प्रशिक्षण सम्पन्न

28
Shares

काठमाडौं १० साउन ।  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, बसुन्धरामा आधुनिक दन्त उपचारमा प्रयोग हुने लेजर डेन्टिस्ट्री सम्बन्धी वैज्ञानिक व्याख्यान तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

शनिबार सम्पन्न कार्यक्रममा भारतका लेजर डेन्टिस्ट्री विशेषज्ञ डा. नितिन अग्रवाल (बीडीएस, एमडीएस–ओरल मेडिसिन एन्ड रेडियोलोजी) ले लेजर प्रविधिको वैज्ञानिक आधार, यसको क्लिनिकल प्रयोग तथा आधुनिक दन्त चिकित्सामा यसको बढ्दो महत्वबारे विस्तृत प्रस्तुति दिएका थिए।

लेजर उच्च ऊर्जा भएको केन्द्रित प्रकाश किरणमा आधारित प्रविधि हो, जसको प्रयोग दन्त उपचारमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ। यो प्रविधिबाट दाँत तथा गिजासम्बन्धी विभिन्न उपचार अधिक सटीक, कम पीडादायी र कम रक्तस्रावका साथ गर्न सकिने भएकाले विश्वभर यसको प्रयोग विस्तार भइरहेको छ। धेरै अवस्थामा लेजर प्रयोग गर्दा टाँका लगाउनुपर्ने आवश्यकता कम हुने, संक्रमणको जोखिम घट्ने, उपचारपछि हुने सूजन र दुखाइ कम हुने तथा बिरामी छिट्टै सामान्य अवस्थामा फर्किन सक्ने विशेषज्ञहरूले बताएका छन्।

दन्त चिकित्सा अध्ययनरत विद्यार्थी, इन्टर्न, स्नातकोत्तर विद्यार्थी तथा प्राध्यापकहरूको सहभागिता रहेको कार्यक्रममा लेजरको आधारभूत भौतिक विज्ञान, लेजर–टिस्यु अन्तरक्रिया, गिजा रोग, मुखभित्रका विभिन्न नरम तथा कडा तन्तुको उपचारमा लेजरको प्रयोग, सुरक्षा मापदण्ड तथा संक्रमण नियन्त्रणका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा दैनिक दन्त उपचार सेवामा लेजर प्रविधिलाई प्रभावकारी रूपमा कसरी समावेश गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शनसमेत गरिएको थियो। सहभागीहरूले आधुनिक उपचार प्रविधिसँग सम्बन्धित नयाँ ज्ञान प्राप्त गर्नुका साथै लेजर उपकरणको सुरक्षित र प्रभावकारी प्रयोगबारे अनुभव आदानप्रदान गरेका थिए।

कान्तिपुर डेन्टल कलेजले यस्ता वैज्ञानिक कार्यक्रमले दन्त चिकित्सामा नवीन प्रविधिको प्रयोग, अनुसन्धान तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *