आकस्मिक कक्षमा उपचारमा सम्लग्न डा प्रमोद रामसहित पाँच जना स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, १० साउन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि निर्घात कुटपिटमा परेका नारायणी अस्पतालका डा. प्रमोद रामसहित पाँच जनालाई जिम्मेवारीबाट समेत हटाइएको छ ।
शनिबार विहानको घटना पछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, अस्पतालका निमित्त मेसु डा चित्तरञ्जन साह लगायतको उपस्थितिमा भएको सर्वपक्षीय बैठकले घटना हुँदा आकस्मिक कक्षमा उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई छानविन समितिको प्रतिवेदन नआउँदा सम्म कामकाजमा नलगाउने र छानविन समितिको सिफारिस अनुसार थप प्रक्रिया अघि बढाउने भन्दै तत्कालै देखि लागू हुने गरी जिम्मेवारीबाट हटाउने निर्णय हो ।
त्यसरी जिम्मेवारीबाट हटाइएकाहरुमा उपचारमा सम्लग्न डा. प्रमोद राम, डा राम किशोर सिंह, प्रल्हाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन् । भिडले मरणासन्न हुने गरी कुटपिट गरेका डा. प्रमोद रामको अहिले सोही अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
बैठकले घटनाको विषयमा छानविन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न छ सदस्यीय टोली गठन गरेको छ । सो टोलीमा नारायणी अस्पतालका डा निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिनयकुमार गुप्ता, जिल्ला प्रहरीका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगञ्ज महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल, अस्पताल प्रशासनबाट सुनीलकुमार रौनियार रहेका छन् ।
तर टोलीमा रहेका डा. सिंहले आफूसंग कुनै सरसल्लाह नै नगरी छानविन समितिमा राखिएको बताए । ‘हिजो नराम्रो घटना घटेको छ । अहिले यहाँ हामी चिकित्सकहरुको बैठक बसिरहेको छ । बैठक पछि आवश्यक निर्णय होला । मलाई थाहा नै छैन, कुनै सल्लाह नै भएको छैन समितिमा राखिदिएको रहेछ । बैठक पछि के गर्ने भन्ने विषयमा जानकारी सार्वजनिक गर्नेछौँ,’ डा सिंहले भने ।
उनले घटनाको विषयमा स्थानीय तहमा गरिने छानविनले नहुने भन्दै नेपाल मेडिकल काउन्सिलबाट छानविन हुनु पर्ने बताए ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
