उपचारका क्रममा बिरामीको मृत्युपछि अस्पताल तोडफोड, डाक्टर माथि निर्घात कुटपिट

कुटपिटबाट गम्भीर घाइते डा. रामको आईसीयूमा उपचार हुँदै
84
Shares

काठमाडौँ, ९ साउन । बिरामीको मृत्यु पछि तिनका आफन्त बताउँने  ४० – ५० जनाको जत्थाले एक जना मेडिकल अफिसरमाथि निर्घात कुटपिट गरेको छ । उनको अहिले आईसीयूमा उपचार भइरहेको छ ।

घटना वीरगञ्जस्थित नारायणी अस्पतालको हो ।

शनिबार विहान आकस्मिक उपचारका लागि ल्याइएका बिरामीको मृत्युपछि बढेको विवाद पछि अराजक भीडले त्यहि कार्यरत डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेको हो । कुटपिट पछि गम्भीर घाइते रामको सोही अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

घटना कसरी भयो ?
नेपाल चिकित्सक संघ नारायणी शाखाका अनुसार विहान ११ बजे मुटु सम्वन्धी गम्भीर समस्याका कारण वीरगञ्ज महानगरपालिका २५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । त्यहाँ आकस्मिक कक्षका इन्चार्जसहित चिकित्सकहरुको टोलीले उपचारका सबै प्रक्रिया पुरा गर्दा गर्दै कार्डियाक एरेस्ट भई बिरामीको मृत्यु भएको थियो ।

त्यसपछि लापरवाहीको आरोप लगाउँदै मृतकका आफन्तहरु आकस्मिक कक्ष तोडफोडमा उत्रिन थाले । सोही क्रममा विवाद मिलाउन भन्दै अघि सरेका डा राममाथि ४०-५० जनाको अनियन्त्रित समूहले बाटोमै घेरा हाली मरणासन्न हुने गरी आक्रमण गरेका थिए ।

घटना पछि संघले विज्ञप्ती जारी गर्दै यस्ता आक्रमणले स्वास्थ्यकर्मीहरुको मनोवलमा गम्भीर आघात पुगेको भन्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्व्न्धी (पहिलो संसोधन) ऐन २०७९ अनुसार कार्वाही गर्न माग गरेको छ ।

उसले तोडफोडका क्रममा भएको क्षति र घाइतेको सम्पूर्ण उपचार खर्च आक्रमणकारीहरुबाट असुल उपर गर्न भनेको छ ।

यस्तै देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कुनै पनि डर त्रास वा दवाव विना आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने बातावरण बनाउन समेत आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *