धनगढीमा अनसनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पतालमा भर्ना

12
Shares

कैलाली, ९ साउन । धनगढीमा अनसनरत डा गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । विगत तीन दिन देखि धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनसन बसिरहेका उनको स्वास्थ्य बिग्रिएपछि केहीबेर अघि सेती प्रादेशिक अस्पताल लगिएको हो । त्यहाँ उनको आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा सुगरको मात्रा निकै घटेर ५० पुगेको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको हो ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भन्दै विभिन्न ५ बुँदे माग राखेर डा. केसीले गत बिहीबार देखि अनसन सुरु गरेका थिए । उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नव नियुक्त उपकुलपति र रजिष्ट्रार सहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको समेत नियुक्ती बदर गर्ने लगायतका माग अघि सारेका छन् ।

तर धनगढी लगायतका सुदूरपश्चिमेलीहरुले डा केसीको यो अनसनलाई निको मानिरहेका छैनन् । उनीहरुले सामाजिक सञ्जालमा अनसन फिर्ता लिन वा काठमाडौँ फर्कन आग्रह गरिरहेका छन् ।

आज विहानै देखि अनसनस्थल वरपर संघर्ष समितिको नाममा प्रदर्शन समेत गरेका छन् । डा केसीको अनसनले यसवर्ष देखि सञ्चालनमा आउन लागेको एमबीबीएस कार्यक्रम तथा अन्य सेवाहरु पुन: रोकिने उनीहरुको आशंका रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *