पहिलो बार्षिकोत्सवको अवसर पारेर एलडीडीसीले गर्‍यो स्वास्थ्य शिविर

48
Shares

काठमाडौँ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर नयाँ बानेश्वरस्थित लिभर एण्ड डाइजेष्टिभ डिजिज सेन्टर (एलडीडीसी) ले अघिल्लो साता (२७ असार)मा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

कलेजो तथा पाचन रोग परीक्षण स्वास्थ्य शिविरमा १५० बढीले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । आयोजक एलडीडीसीका अनुसार शिविरमा नयाँ बानेश्वर क्षेत्रका स्थानीयको उल्लेख्य उपस्थिति थियो ।

शिविरमा कलेजो तथा पाचनसम्बन्धी रोगहरूको परामर्श, परीक्षण तथा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो। कार्यक्रममा जनचेतनामूलक गतिविधिहरू इन्ऱिच को सहकार्यमा सञ्चालन गरिएको थियो। जनचेतना कार्यक्रमलाई मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा बीएस्सी नर्सिङ चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले स्वयंसेवीको रुपमा सहयोग गरेका थिए ।

शिविरमा हेपाटोलोजिस्ट डा. पुकार थापा, हेपाटोलोजिस्ट डा. रुपेश श्रेष्ठ, ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट प्रा डा विनोद कार्की तथा रेडियोलोजिस्ट एवं अल्ट्रासोनोग्राफी विशेषज्ञ डा. बचन मैनालीले सेवा प्रदान गरेका थिए।

शिविर सम्पन्न भएपछि आयोजित समापन तथा सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसी, पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा लगायतले बोलेका थिए । उनीहरुले समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टरको प्रयासको प्रशंसा गर्दै कलेजो तथा पाचनसम्बन्धी रोगहरूको समयमै पहिचान र उपचारको महत्वमाथि जोड दिएका थिए।

कार्यक्रमको समापनमा स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग पुर्‍याउने चिकित्सक, स्वयंसेवक, सहयोगी संस्था तथा सहभागी सेवाग्राहीहरूप्रति आयोजकले आभार व्यक्त गरेको एलडीडीसीका प्रवन्ध निर्देशक रौनक बास्कोटाले जानकारी दिए । उनले आगामी दिनहरूमा पनि समुदाय लक्षित यस्ता स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *