कर्णालीको अति दुर्गम समुदायका ९ सय बढीको निःशुल्क आँखाको शल्यक्रिया

काठमाडौँ, ४ साउन । कर्णाली प्रदेशको अति दुर्गम समुदायमा ९ सय बढीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८/र८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत ९ सय ५३ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा अस्पतालले सो प्रदेशका १७ हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
सो अवधिमा बाह्य कार्यक्रममार्फत सात हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूमार्फत १० हजार ४३२ जनाले आँखा उपचार सेवा प्राप्त गरेका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसरी बाह्य कार्यक्रम र आँखा उपचार केन्द्रमार्फत गरी कर्णाली प्रदेशमा एक वर्षमा १७ हजार ६४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
हिमालय आँखा अस्पतालअन्तर्गत कर्णाली प्रदेशका चन्दननाथ आँखा अस्पताल खलङ्गा–जुम्ला, मान्म–कालीकोट, सिमकोट–हुम्ला, सिंजा–जुम्ला र गमगढी–मुगुमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।
यी अस्पताल, उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने बाह्य कार्यक्रम र शिविरमार्फत भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आँखा परीक्षण, उपचार, आवश्यक परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध गराइँदै आएको छ ।
अस्पतालको प्रमुख मेडिकल निर्देशक डा बबिता गुरुङका अनुसार अस्पतालले गत आर्थिक वर्षमा अस्पतालको बहिरङ्ग विभागमार्फत मात्रै एक लाख ८८ हजार ९१४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
विज्ञप्तिका अनुसार सेवा लिनेमा एक लाख छ हजार ४५९ महिला र ८२ हजार ४९८ पुरुष छन् । कूल सेवाग्राहीमध्ये करिब ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन् ।
हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापामगरले कर्णाली प्रदेशमा विशेषज्ञ आँखा उपचार सेवालाई थप विस्तार र सुदृढ गर्ने योजना अघि बढाएको जानकारी दिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका मगरले भने, “जुम्लामा नेत्र विशेषज्ञमार्फत नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने तथा कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’का रूपमा सेवा विकास गरी स्थानीयस्तरमै आँखाको शल्यक्रिया सेवा उपलब्ध गराउने योजना रहेको छ । भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सामान्य आँखा उपचार तथा शल्यक्रियाका लागि समेत टाढासम्म जानुपर्ने बाध्यतालाई कम गर्न विशेषज्ञ तथा शल्यक्रिया सेवालाई जिल्लास्तरसम्म विस्तार गर्न लागिएको छ ।”
यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा वा नजिकको सेवा केन्द्रबाट समयमै गुणस्तरीय आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
सन् २०२५ मा पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा
सङ्घका अनुसार सङ्घले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
