शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा प्राडा जोशी र रजिष्ट्रारमा डा. चन्द नियुक्त

काठमाडौं, ३१ असार । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्राडा सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन्।
बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि यो संस्था नेतृत्वविहीन बनेको थियो। सरकारद्वारा गठित उच्चस्तरीय सिफारिस समितिको सिफारिसका आधारमा सिनेटले यी दुई पदाधिकारीको नियुक्ति टुङ्गो लगाएको हो।
शिक्षा सचिव चुडामणि पौडेलले सिफारिस समितिले दिएको तीन तीन जनाको नाममध्येबाट उपकुलपतिमा प्राडा जोशी र रजिष्ट्रारमा डा. चन्दलाई नियुक्त गर्ने निर्णय भएको बताए ।
नयाँ नेतृत्व आएसँगै कैलालीको गेटास्थित देशकै एक मात्र विशिष्टीकृत स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका कक्षा सञ्चालन र अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्यले गति लिने अपेक्षा गरिएको छ।
दोहोरिएका उपकुलपति
उपकुलपतिको जिम्मेवारी सम्हाल्न आइपुगेका प्राडा जोशी यसअघि पनि सो विश्वविद्यालयका उपकुलपति थिए। पहिलो कार्यकालमा उनले भौतिक पूर्वाधार मात्रै रहेको गेटामा विश्वविद्यालय सञ्चालनका लागि बलियो कानूनी र प्रशासनिक आधार तयार पारेका थिए।
उनको नेतृत्वमा विश्वविद्यालयको सङ्गठन तथा व्यवस्थापन सर्भे सम्पन्न हुनुका साथै संस्था सञ्चालनका लागि अत्यावश्यक ९ वटा नियमावली तर्जुमा गरिएका थिए। त्यसबाहेक उनले एमबीबीएससहित चिकित्सा शिक्षाका ४ वटा शैक्षिक कार्यक्रम सञ्चालनको ठोस पूर्वतयारी समेत अगाडि बढाएका थिए।
यो जिम्मेवारीमा आउनुअघि काठमाडौँ मेडिकल कलेजमा कम्युनिटी मेडिसिनका प्राध्यापक रहिसकेका डा. जोशी विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध छन्।
लामो अनुसन्धानको अनुभव बटुलेका उनका दर्जनौँ अनुसन्धानमूलक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।
अनुभवी रजिष्ट्रार
उपकुलपतिमा पुरानै व्यक्ति दोहोरिए पनि रजिष्ट्रार पदमा आएका डा. चन्द सो विश्वविद्यालयका लागि नयाँ हुन् । यद्धपी उनीसंग धेरै अनुभव रहेको छ । डा. चन्द नेपालको निजी तथा संस्थागत स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा करीव तीन दशक देखि क्रियाशिल रहेका व्यक्ति हुन् । हस्पिटल म्यानेजमेन्टमा विद्यावारिधि गरेका डा. चन्दले काठमाडौँ मेडिकल कलेज स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै त्यहाँ १६ वर्षसम्म प्रशासन, लेखा र प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
नेपाल मेडिकल काउन्सिलको सदस्य तथा इथिकल कमिटीको संयोजकका रूपमा काम गरिसकेका उनी विगत १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए।
गेटाको परियोजना सुरुवाती चरणदेखि नै यससँग जोडिएका डा. चन्दले पूर्वाधार निर्माणको प्राविधिक समितिमा बसेर समेत काम गरिसकेका छन्। यसअघि विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य रहँदा उनले ओएनएम र ९ वटा कानुन निर्माणमा डा. जोशीलाई प्रत्यक्ष सहयोग पुर्याएका थिए।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

