सेवा र नवप्रवर्तनका २५ वर्ष पुरा :

क्वेस्ट फर्मास्युटिकल्सले मनायो रजत जयन्ती

36
Shares

काठमाडौँ, २७ असार । स्थापनाको साढे दुई दशक पुग्दा नेपालकै ‘नम्बर वान’ औषधी कम्पनी बनेको क्वेस्ट फर्मास्युटिकल्स प्रालिले शुक्रबार भव्य समारोहकाबीच रजत जयन्ती समारोह मनाएको छ ।

सन् १९९९ मा स्थापना भई सन् २००१ देखि औपचारिक रुपमा उत्पादन सुरु गरेको यस कम्पनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जीएमपी)अनुरुप औषधी उत्पादन गर्दै आएको छ ।

‘हामी विगत २५ वर्ष देखि गुणस्तरीय सुरक्षित र नवीन औषधीको उत्पादन र वितरणमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका छौँ । अनुसन्धान तथा विकास (आरएण्डडी) मा निरन्तर लगानी गर्दै नेपालमै पहिलो पटक सफ्ट जेलाटिन क्याप्सुल र बाइलेयर्ड ट्याबलेटको प्रविधि भित्रिएको यस कम्पनीले उद्योग तथा व्यवस्थापनका क्षेत्रमा पुरयाएको योगदानको कदर विभिन्न राष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेको छ,’ क्वेष्टका कार्यकारी निर्देशक उमेशलाल श्रेष्ठले भने ।

हाल क्वेस्टले १०० भन्दा बढी ब्राण्डेड जेनरिक औषधी उत्पादन गर्दै बार्षिक ३० करोड भन्दा बढी एकाई औषधी बजारमा उपलव्ध गराएको छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार क्वेस्टले नेपालभर हाल १५० भन्दा बढी वितरण साझेदार मार्फत करीव ३० लाख बिरामीसम्म आफ्नो कम्पनीको सेवा पुर्‍याई रहेको छ भने देशको करीव ५ प्रतिशत औषधीको आवश्यकता परिपूर्ति गरिरहेको छ ।

अनुसन्धान, गुणस्तर, उत्पादन तथा मानव स्रोत विकासलाई प्राथमिकता दिदै समान अवसर र व्यवसायिक विकासको संस्कृतिलाई प्रवर्र्दन गर्दै आएको क्वेस्टले आफूकहाँ ६०० बढी कर्मचारीहरु कार्यररहेको जनाएको छ ।

यसैबीच स्वदेशी औषषी उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँगको प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

क्वेस्ट फर्मास्युटिकल्स प्रालिले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित रजत जयन्ती समारोहमा वक्ताहरूले स्वदेशी औषधी उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यसको थप प्रवर्द्धनका लागि नीतिगत सुधार अपरिहार्य रहेको धारणा राखे।

समारोहमा सम्वोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद गणेश पराजुलीले स्वदेशी औषधी उद्योग नेपालको अर्थतन्त्र, रोजगारी र स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको बताए। करिब ८० अर्ब रुपैयाँको नेपाली औषधी बजारमध्ये झन्डै ४०–४५ अर्ब रुपैयाँ बराबरको उत्पादन स्वदेशमै भइरहेको उल्लेख गर्दै उनले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा क्वेस्ट फर्मास्युटिकल्सको योगदान प्रशंसनीय रहेको बताए। उनले पब्लिक प्राइभेट पार्टनशीप (पीपीपी) मोडलमा स्वदेशी उद्योगको प्ररर्वदन गर्ने सरकारको नीति रहेको समेत जानकारी दिए ।

अर्का बक्ता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको बताए। प्रधानमन्त्रीसँग हालै भएको छलफलमा उद्योग–व्यवसायको मनोबल, नियमन र सहजीकरणका विषयमा गम्भीर छलफल भएको जानकारी दिँदै उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई समेटेर संयुक्त संयन्त्र गठन गर्ने तयारी भएको बताए। यसबाट उद्योग–व्यवसायमैत्री वातावरण निर्माण हुने र निजी क्षेत्रको मनोबल बढ्ने विश्वास उनले व्यक्त गरे।

कार्यकारी निर्देशक श्रेष्ठले कम्पनीको २५ वर्षे यात्रा ग्राहक, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, वितरक, व्यावसायिक साझेदार तथा नियामक निकायको विश्वास र सहयोगको परिणाम भएको बताए। उनले भक्तपुरमा अत्याधुनिक इनोभेसन सेन्टर स्थापना गरी हाल आयातमा निर्भर रहेका केही औषधी स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको जानकारी दिए। यसले औषधीमा नेपालको आत्मनिर्भरता थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिमा पनि कम्पनीले औषधिको आपूर्ति निरन्तर कायम राखेको स्मरण गरे।

श्रेष्ठले स्वदेशी औषधी उद्योगले ठूलो परिमाणमा आयात प्रतिस्थापन गरिरहेको भए पनि उद्योग प्रवर्द्धन, औषधीको मूल्य समायोजन तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताए। आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई थप सुदृढ बनाउँदै उत्पादन क्षमता विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।

उनले उद्योगीहरूले उठाएका नीतिगत सुधारका माग जायज रहेको उल्लेख गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जना गर्ने उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताए। नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा औषधी उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर, बौद्धिक सम्पत्ति अधिकार तथा प्रयोगशाला मान्यता (एक्रेडिटेसन) जस्ता विषयमा क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले राष्ट्रिय एक्रेडिटेसन प्रणाली सुदृढ बनाउनुपर्नेमा जोड दिए। सरकारको भूमिका नीतिगत व्यवस्था, नियमन र पूर्वाधार विकासमा केन्द्रित रहने तथा उद्योग सञ्चालनको नेतृत्व निजी क्षेत्रले नै गर्ने उनको भनाइ थियो।

समारोहमा कम्पनीका अध्यक्ष शंकर दास श्रेष्ठ, निर्देशकहरु पृथ्वी राजभण्डारी (निजु), शैलेन्द्र प्रसाद वर्मा तथा उत्तमकुमार श्रेष्ठले कम्पनीको सफलताको श्रेय संस्थापक, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, ग्राहक, वितरक तथा व्यावसायिक साझेदारलाई दिँदै आगामी दिनमा पनि गुणस्तरीय औषधी उत्पादन, अनुसन्धान, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत नेपालको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

एसोसियट डाइरेक्टर आशीष श्रेष्ठले २५ वर्षको सफल यात्रा कम्पनीप्रति ग्राहक, चिकित्सक, कर्मचारी र व्यावसायिक साझेदारले देखाएको विश्वासको प्रतिफल भएको बताए। उनले नयाँ पुस्ताले अनुसन्धान, डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय औषधी उत्पादनमार्फत नेपालको औषधी उद्योगलाई अझ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको उल्लेख गरे।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *