बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ

धरान, २४ असार । बिचौलियाको काम गरेको आरोपमा प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जनालाई पक्राउ गरेको छ ।
प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने र आर्थिक चलखेल गरी निजी अस्पतालमा पठाउने गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सप्तरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षीय सान्बिन किराती र धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी छन् ।
यसैगरी उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता, धरान–११ का १८ वर्षीय विनोद भट्टराई, झापा दमक–१ का ४३ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगर गाउँपालिका–४ का २७ वर्षीय दीपक राम पनि पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्युरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद भएको छ ।
यस्तै उनीहरूको साथबाट बरामद मोबाइल फोनको प्रारम्भिक परीक्षण गर्दा विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका तस्बिर, बिरामीको नाम, रोग र उमेरसहितका विवरण अन्य व्यक्तिलाई पठाइएको रेकर्ड तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातका तस्बिर फेला परेका छन् ।
बरामद सामग्रीले अस्पतालमा सक्रिय बिचौलियाको सम्भावित सञ्जाल, बिरामीको व्यक्तिगत विवरण सङ्कलन तथा निजी अस्पतालसँगको सम्भावित समन्वयबारे थप अनुसन्धान गर्न महत्त्वपूर्ण आधार प्रदान गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
यसै साता बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन तथा निरीक्षणका लागि गृहमन्त्री सुदन गुरुङ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पुगेका थिए । उनीहरुलाई बिरामीको सेवामा ध्यान दिन निर्देशन समेत दिएका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

