काउन्सिलद्धारा स्वास्थ्य संस्थाको अनुगमन, नियमन र कार्वाही गर्न पत्राचार

काठमाडौँ, २३ असार । नेपाल मेडिकल काउन्सिलले देशका धेरै ठाउँमा सञ्चालित स्वास्थ्य संस्थाहरु अनुमति विना नै सञ्चालन भएको पाइएको भन्दै त्यस्ता संस्थाहरुलाई थप अनुगमन गरी आवश्यक कार्वाही गर्न तीन तहकै सरकारलाई आग्रह गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा दिपेन्द्र पाण्डेले संघीय, प्रदेश र स्थानीय तहका सम्वन्धित निकायलाई पत्राचार गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘धेरै गुनासो आएपछि हामीले केही समय अनुगमन गरेका थियौँ । गुनासो अनुसार नै धेरै स्वास्थ्य संस्थाहरु दर्ता विना नै सञ्चालित भएको, मापदण्ड पुरा नगरेको पाइएको छ । त्यसैले हामीले तीन तहकै सरकारी निकायलाई पत्राचार गरेका छौँ । संघीय सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालय सबै, प्रदेश कार्यालयहरु सबै, सबै स्वास्थ्य निर्देशनालय र सबै स्थानीय तहलाई पत्राचार गरिएको छ,’ उनले भने ।

काउन्सिलले पठाएको दुई बुँदे पत्रको पहिलो बुँदामा दर्ता वा अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुको तत्काल पहिचान गरी बन्द वा नियमानुसार कार्वाही गर्ने भनिएको छ ।

यस्तै दोस्रो बुँदामा सञ्चालन अनुमति प्राप्त भए तापनि तोकिएको न्युनतम मापदण्ड पुरा नगरेका संस्थाहरुलाई सुधारका लागि निर्देशित गर्ने र सुधार नभएमा निमायनुसारको कार्वाही गर्ने भनिएको छ ।

काउन्सिल नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने साझा उदेश्यमा प्रतिवद्ध रहेको भन्दै यस विषयलाई प्राथमिकताका साथ ग्रहण गरी कार्वाहीका लागि निर्देशानुसार अनुरोध गरेको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *