अस्पताल फार्मेसीलाई ‘सुलभ फार्मेसी’ नामकरण गर्ने निर्णय फिर्ता लिन नेपाल फार्मेसी संघको माग

116
Shares

काठमाडौं, २२ असार । नेपाल फार्मेसी संघले सरकारी अस्पतालमा सञ्चालन भइरहेका अस्पताल फार्मेसीहरूको नाम परिवर्तन गरी ‘सुलभ फार्मेसी’ राख्ने नेपाल सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकलाई गुणस्तरीय, सुरक्षित, सुलभ तथा निःशुल्क औषधी तथा फार्मेसी सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै सरकारले सुलभ मूल्यमा औषधी उपलब्ध गराउने उद्देश्य स्वागतयोग्य भए पनि अस्पताल फार्मेसीको नाम परिवर्तन गर्नु उचित नहुने जनाएको छ।

संघका अध्यक्ष युवराज भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पताल फार्मेसी केवल औषधी बिक्री गर्ने स्थान नभई आकस्मिक, अन्तरङ्ग तथा बहिरङ्ग फार्मेसी, आईसीयू तथा विभिन्न वार्ड फार्मेसी, क्लिनिकल फार्मेसी, औषधधी सूचना सेवा, औषधी व्यवस्थापन तथा बिरामी परामर्शलगायतका विशेषज्ञ सेवा समेटिएको समग्र स्वास्थ्य सेवा प्रणाली भएको जनाउँदै गर्दै यस्तो सेवाको पहिचान हटाएर ‘सुलभ फार्मेसी’ नामकरण गर्नु अस्पताल फार्मेसीको अवधारणामाथिको हस्तक्षेप भएको उल्लेख छ ।

संघका अनुसार सरकारी अस्पतालका अस्पताल फार्मेसीहरूले विगतदेखि नै सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम तथा अन्य सरकारी नीतिअनुसार सुलभ तथा निःशुल्क औषधी वितरण गर्दै आएका छन्। केवल नाम परिवर्तनले नयाँ उपलब्धि सिर्जना नगर्ने, बरु आम नागरिकमा भ्रम सिर्जना गर्ने संघको भनाइ छ।

विज्ञप्तिमा आवश्यकता अनुसार सरकारले छुट्टै सरकारी स्वामित्वमा ‘सुलभ फार्मेसी’ स्थापना गर्न सक्ने उल्लेख गर्दै अस्पताल परिसरभित्र सञ्चालन हुने सेवा भने अस्पताल फार्मेसीकै रूपमा कायम रहनुपर्ने माग गरिएको छ। यो सर्वोच्च अदालतको आदेश, अस्पताल फार्मेसी सेवा निर्देशिका–२०७२ तथा प्रचलित नीतिगत व्यवस्थाको मर्मअनुकूल रहेको संघले जनाएको छ।

नेपाल फार्मेसी संघले सरकारसमक्ष अस्पताल फार्मेसीको नाम परिवर्तन गर्ने निर्णय तत्काल खारेज गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्पताल फार्मेसी सेवा सुदृढ बनाउन, लामो समयदेखि अस्थायी रूपमा कार्यरत फार्मासिस्टहरूको सेवा स्थायी गर्न, पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्था गर्न तथा महँगा, क्यान्सर, अङ्ग प्रत्यारोपण, दुर्लभ र जटिल रोगका औषधी प्रत्यक्ष खरिद गरी नागरिकलाई निःशुल्क वा सुलभ मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ।

यसैगरी गुणस्तरीय सेवा, दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार, औषधीको नियमित उपलब्धता तथा बिरामीकेन्द्रित फार्मेसी सेवाको विकासबाट मात्रै नागरिकले वास्तविक राहत प्राप्त गर्ने उल्लेख गर्दै नाम परिवर्तनभन्दा सेवाको गुणस्तर सुधारमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।

प्रेस बिज्ञप्ति

नेपाल सरकारले हालै सरकारी अस्पतालहरूमा सञ्चालन भइरहेका अस्पताल फार्मेसीहरूको नाम तथा साइनबोर्ड परिवर्तन गरी “सुलभ फार्मेसी” नामकरण गर्ने निर्णयप्रति नेपाल फार्मेसी संघको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल फार्मेसी संघ स्पष्ट रूपमा विश्वास गर्दछ कि नागरिकलाई गुणस्तरीय, सुरक्षित, सुलभ तथा निःशुल्क औषधि तथा फार्मेसी सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो। सरकारले नागरिकलाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्य राख्नु स्वागतयोग्य र प्रशंसनीय कार्य हो। तर, विगतदेखि सञ्चालनमा रहेका अस्पताल फार्मेसीको नाम परिवर्तन गरी केवल “सुलभ फार्मेसी” को साइनबोर्ड राख्नु अस्पताल फार्मेसी सेवाको मर्म, उद्देश्य, अन्तर्राष्ट्रिय मान्यता तथा विद्यमान कानुनी व्यवस्थामाथिको अनावश्यक हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ।

सरकारी अस्पतालहरूमा सञ्चालन भइरहेका अस्पताल फार्मेसीहरूले हालसम्म नै नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम तथा अन्य सरकारी नीतिअनुसार सुलभ तथा निःशुल्क औषधि वितरण गर्दै आएका छन्। अस्पताल फार्मेसी स्वयं नागरिकलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने स्थापित संयन्त्र हो। केवल नाम परिवर्तनले नयाँ उपलब्धि सिर्जना गर्दैन, बरु आम नागरिकमा भ्रम उत्पन्न गर्छ।

विश्वव्यापी अभ्यासअनुसार अस्पताल फार्मेसी भनेको औषधि बिक्री गर्ने स्थान मात्र होइन। यसअन्तर्गत आकस्मिक फार्मेसी, अन्तरङ्ग तथा बहिरङ्ग फार्मेसी, आईसीयू तथा विभिन्न वार्ड फार्मेसी, क्लिनिकल फार्मेसी, औषधि सूचना सेवा, औषधि व्यवस्थापन, बिरामी परामर्शलगायतका सम्पूर्ण विशेषज्ञ सेवा पर्दछन्। यस प्रकारको समग्र सेवाको पहिचानलाई हटाई केवल “सुलभ फार्मेसी” नामकरण गर्नु अस्पताल फार्मेसीको अवधारणामाथिको प्रहार हो।

यदि नाम परिवर्तन मात्र गरेर सेवा सुलभ हुने हो भने अस्पतालका अन्य विभागहरूलाई पनि “सुलभ आकस्मिक सेवा”, “सुलभ शल्यक्रिया सेवा”, “सुलभ दन्त सेवा”, “सुलभ अन्तरङ्ग सेवा” वा चिकित्सकलाई “सुलभ चिकित्सक” भन्नुपर्ने अवस्था सिर्जना हुन्छ, जुन न आवश्यक छ, न त व्यवहारिक नै।

नेपाल फार्मेसी संघ स्पष्ट पार्न चाहन्छ हामी सुलभ फार्मेसीको विरोधमा होइनौं, बरु अस्पताल फार्मेसीको अस्तित्व मेटाउने कार्यको विरोधमा छौं। आवश्यकता अनुसार नेपाल सरकारले छुट्टै सरकारी स्वामित्वमा सुलभ फार्मेसी ठाउँ ठाउँमा स्थापना गर्न सक्छ र गर्नुपर्दछ। तर अस्पताल परिसरभित्र सञ्चालन हुने सेवा भने अस्पताल फार्मेसीकै रूपमा रहनुपर्छ। यो सम्मानित सर्वोच्च अदालतको आदेश, अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ तथा प्रचलित नीतिगत व्यवस्थाको समेत मर्म हो।

नेपाल फार्मेसी संघ नेपाल सरकारसँग निम्न मागहरू गर्दछः

१. अस्पताल फार्मेसीको नाम परिवर्तन गरी “सुलभ फार्मेसी” राख्ने निर्णय तत्काल खारेज गरियोस्।

२. सबै सरकारी अस्पतालमा अस्पताल फार्मेसी सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाइयोस्।

३. विगत करिब १० वर्षदेखि दैनिक ज्यालादारी तथा अस्थायी करारमा कार्यरत फार्मासिस्टहरूको सेवालाई स्थायित्व प्रदान गरी आवश्यक स्थायी दरबन्दी सिर्जना गरियोस्।

४. बिरामीको चापअनुसार पर्याप्त फार्मासिस्ट, सहायक जनशक्ति, पूर्वाधार तथा आधुनिक औषधि व्यवस्थापन प्रणालीको विकास गरियोस्।

५. अत्यधिक महँगा, क्यान्सर, अङ्ग प्रत्यारोपण, दुर्लभ तथा जटिल रोगहरूको उपचारमा प्रयोग हुने औषधि नेपाल सरकारले प्रत्यक्ष खरिद गरी नागरिकलाई निसुल्क तथा सुलभमूल्यमा उपलब्ध गराउने विशेष व्यवस्था गरियोस्।

६. गुणस्तरीय औषधिको सुनिश्चित आपूर्ति, उचित भण्डारण, बिरामी परामर्श तथा सुरक्षित औषधि प्रयोगलाई अस्पताल फार्मेसी सेवाको अनिवार्य अंगका रूपमा विकास गरियोस्।

नेपाल फार्मेसी संघको विश्वास छ कि लोकप्रियताभन्दा पनि गुणस्तरीय सेवा, दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार, औषधिको नियमित उपलब्धता तथा बिरामीकेन्द्रित फार्मेसी सेवाको विकासबाट मात्र नागरिकले वास्तविक रूपमा राहत प्राप्त गर्न सक्छन्। नाम परिवर्तनले होइन, सेवाको गुणस्तर सुधारले मात्र “सुलभ” भन्ने शब्दको सार्थकता स्थापित हुन्छ।

नेपाल फार्मेसी संघ नेपाल सरकारसमक्ष अस्पताल फार्मेसीको पहिचान, कानुनी अस्तित्व र व्यावसायिक गरिमालाई अक्षुण्ण राख्दै अस्पताल फार्मेसी सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन आग्रह गर्दछ। साथै, अस्पताल फार्मेसीको नाम परिवर्तन गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।

युवराज भुसाल

अध्यक्ष

मिति: २०८३ /०३/२२ गते, सोमबार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *