फोक्सोको क्यान्सरको अनुसन्धान र उपचारमा काम गर्ने सर्बोच्च संस्था :

‘आईएएसएलसी’को ‘ग्लोबल काउन्सिल डेलिगेट’मा डा. अरुण शाही चयन

काठमाडौँ, १९ असार । फोक्सोको क्यान्सरको अनुसन्धान र उपचारको क्षेत्रमा काम गर्ने विश्वकै सर्वोच्च संस्था ‘इन्टरनेसनल एसोसिएसन फर द स्टडी अफ लङ क्यान्सर’(आईएएसएलसी) को ‘ग्लोबल काउन्सिल डेलिगेट’मा नेपालको तर्फबाट वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही चयन भएका छन् ।

नेपाल ग्लोबल काउन्सिल ग्रुपभित्र आबद्ध चिकित्सक तथा वैज्ञानिकहरूको मतदान (पियर भोटिङ) प्रक्रियामा उच्चतम स्थान प्राप्त गर्दै डा. शाही नेपालको तर्फबाट आधिकारिक प्रतिनिधिका रूपमा चुनिएका हुन् । उनको पदावधी दुई देखि चार वर्षको हुनेछ ।

संस्थाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. कारेन केली र ग्लोबल प्रोग्राम कोअर्डिनेटर एस्ली शुटेले डा. शाहीको नेतृत्वको प्रशंसा गर्दै बिहीबार आधिकारिक रूपमा नेपाल प्रतिनिधिमा छनौट भएको घोषणा गरेका थिए ।

डा. शाहीले भने यस छनोटले फोक्सोको क्यान्सर उपचारको विश्वकै सर्वोच्च मञ्चमा नेपालको आवाज, चुनौती र आवश्यकतालाई स्थापित गर्ने एउटा ठूलो अवसर प्रदान गरेको बताए ।

५० वर्ष लामो इतिहास बोकेको आईएएसएलसी कस्तो संस्था हो ?
अमेरिकाको डेनभर, कोलोराडोमा मुख्यालय रहेको आईएएसएलसी फोक्सोको क्यान्सर र अन्य थोर्यासिक ट्युमरको रोकथाम, निदान र उपचारमा समर्पित ५० वर्षभन्दा पुरानो प्रतिष्ठित बैज्ञानिक संस्था हो ।

यस संस्थामा संसारभरका १०० भन्दा बढी देशका हजारौँ बरिष्ठ क्यान्सर विशेषज्ञ, वैज्ञानिक र अनुसन्धानकर्ताहरू यसमा आबद्ध छन्। फोक्सोको क्यान्सरको क्षेत्रमा यस संस्थाले तय गरेका मापदण्ड र गरेका अनुसन्धानहरूलाई नै विश्वभरिका चिकित्सकहरूले मार्गदर्शक मान्ने गर्दछन्।

डा. शाहीको नेतृत्व र आईएएसएलसीको मार्गदर्शन
नयाँ जिम्मेवारी पाएका डा शाहीले अब आफ्नो २ देखि ४ वर्षको कार्यकालमा नेपालमा फोक्सोको क्यान्सरको रोकथाम र उपचारलाई थप वैज्ञानिक र व्यवस्थित बनाउन एक बहु-विधागत सल्लाहकार समूहको नेतृत्व गर्नेछन् ।

यस समूहमा नेपालका विभिन्न विधाका विशेषज्ञहरू समावेश हुनेछन्। यस समूहलाई अमेरिकास्थित मुख्यालय रहेको आईएएसएलसीले प्रत्यक्ष रूपमा प्राविधिक तथा रणनीतिक मार्गदर्शन गर्ने बताइएको छ ।

जसले गर्दा नेपाली बिरामीहरूले विश्वस्तरीय चिकित्सा पद्धतिको लाभ नेपालमै पाउन सक्ने बताइएको छ ।

नेपालजस्तो देशमा विज्ञान र लागतको सन्तुलन

नेपाल जस्ता निम्न तथा मध्यम आय भएका देशहरूका लागि फोक्सोको क्यान्सरको आधुनिक उपचार पद्धति अपनाउनु र त्यसको महँगो खर्च धान्नु सधैँ ठूलो चुनौती रहँदै आएको छ। डा. शाहीको नेतृत्वमा अब नेपालले यो खाडललाई पुर्ने उपाय खोज्नेछन् । अत्याधुनिक विज्ञान अत्याधुनिक प्रविधि र औषधी र नेपालको आर्थिक यथार्थ (कम लागत) बीच कसरी सही सन्तुलन मिलाएर उपचारलाई आम नागरिकको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा यो काउन्सिलले विशेष रणनीति तय गर्ने बताइएको छ ।

रोकथाम, स्क्रिनिङ र औषधिको पहुँचमा अन्तर्राष्ट्रिय सहयोग
आईएएसएलसी को प्रत्यक्ष सहयोग र डा. शाहीको नेतृत्वमा नेपालमा फोक्सोको क्यान्सरको क्षेत्रमा व्यापक सुधारका कार्यहरू अगाडी बढ्ने बताइएको छ ।

रोकथाम र स्क्रिनिङ
फोक्सोको क्यान्सरलाई सुरुआती चरणमै पत्ता लगाई ज्यान जोगाउनका लागि देशव्यापी रूपमा स्क्रिनिङका कार्यक्रमहरू र जनचेतनाका कार्यहरू आईएएसएलसी को प्राविधिक सहयोगमा सञ्चालन गरिनेछ।

उपचार र औषधिको पहुँचस् विश्वमा विकास भएका नयाँ र प्रभावकारी क्यान्सरका औषधीहरु (टार्गेटेड थेरापी र इम्युनोथेरापी आदि ) नेपाली बिरामीको पहुँचमा कसरी सहज र किफायती रूपमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरबाटै पहल कदमी चालिने भनिएको छ ।

विश्व सम्मेलनमा नेपालको मुद्दा उठाइने
नवनिर्वाचित डेलिगेट डा. शाहीले आउँदो सेप्टेम्बर १३, २०२६ मा दक्षिण कोरियाको सियोलमा आयोजना हुने ‘वर्ल्ड कन्फरेन्स अन लङ क्यान्सर ( आईएएसएलसी)- २०२६’ को पहिलो भौतिक बैठकमा नेपालको तर्फबाट नेतृत्वदायी सहभागिता जनाउने बताएका छन् ।

उनले सो उच्चस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै यहाँका बिरामीका चुनौती, औषधीको अभाव र भविष्यको कार्यदिशाबारे विश्वभरका विशेषज्ञहरूमाझ नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

नेपालमा पुरुष र महिला दुवैमा सबैभन्दा बढी देखिने र घातक मानिएको फोक्सोको क्यान्सर विरुद्धको लडाइँमा नीतिगत, वैज्ञानिक र व्यावहारिक सुधार ल्याउन डा. शाहीको यो अन्तर्राष्ट्रिय भूमिका र आईएएसएलसी को सहयोग नेपालका लागि एउटा बलियो आशाको किरण साबित हुने विश्वास स्वास्थ्य क्षेत्रले गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *