‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

12
Shares

काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय डेंगी बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरणअन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ ।

उक्त अभियानका लागि महानगरले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित सङ्घसंस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महानगर महामारी रोग रोकथाम तथा निन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार कामपाले यस वर्षको बर्खायामको प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिमप्राप्त एक हजार ६५० जना जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायत सङ्घसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिमप्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ ।

उनले भने, “डेंगी सङ्क्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने, डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी तथा प्रतिकार्य, नेतृत्व, बहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् । ”

मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको सङ्क्रमण फैलिँदै जाने र कात्तिक, मङ्सिरमा उच्च सङ्क्रमण देखिन्छ । अहिलेबाट नै प्रतिकार्य गर्न सकियो भने विगत वर्षको भन्दा यस वर्ष सङ्क्रमणदर घटाउन सम्भव छ ।

डेंगी सङ्क्रमण फैलाउने लामखुट्टे पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन ।

एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेंगी रोग लाग्छ । सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा रूपमा ज्वरो आउने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *