नेपाल स्वास्थ्य प्राविधिक सङ्घ को ४८औँ स्थापना दिवस देशभर विविध कार्यक्रम गरी सम्पन्न

12
Shares

काठमाडौं, १६ असार । नेपाल स्वास्थ्य प्राविधिक सङ्घ (पान) ले आफ्नो ४८औँ स्थापना दिवस मंगलबार देशभर विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौंमा वरिष्ठ उपाध्यक्ष शोभा गौतम, महासचिव श्यामकुमार ओलीलगायत पदाधिकारीहरूको उपस्थितिमा चियापान तथा स्वास्थ्य क्षेत्रका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा स्वास्थ्य सेवा सुधार, स्वास्थ्यकर्मीको पेशागत सुरक्षा तथा आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, बाग्लुङ जिल्ला समितिले मानव सेवा आश्रममा सरसफाइ सामग्री वितरण गरी सामाजिक सेवामा योगदान पुर्‍याएको छ। चितवन जिल्ला समितिले खुला रक्तदान कार्यक्रम आयोजना गरी जीवन बचाउने अभियानमा ऐक्यबद्धता जनाएको छ।

दाङ जिल्ला समितिले रक्तचाप तथा मधुमेह परीक्षणका साथै खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको थियो भने सुनसरी जिल्ला समितिले निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण गरी समुदायमा स्वास्थ्य सचेतना फैलाएको छ।

यसैगरी बर्दिया जिल्ला समितिले ठाकुरबाबा नगरपालिका–३ मा वृक्षारोपण कार्यक्रम आयोजना गरी वातावरण संरक्षणमा योगदान दिएको छ। गुल्मी जिल्ला समितिले स्वास्थ्यकर्मीसँग समसामयिक विषयमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

रूपन्देही जिल्ला समितिले सङ्घका केन्द्रीय अध्यक्ष वसन्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा मुखपत्र विमोचन, सम्मान तथा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने ललितपुर जिल्ला समितिले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।

नेपाल स्वास्थ्य प्राविधिक सङ्घका अनुसार देशका ७७ वटै जिल्लामा संगठन विस्तार भइसकेको छ र अधिकांश जिल्ला समितिहरूले रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण, सरसफाइ, सम्मान, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर मनाएका छन्।

सङ्घले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, सुरक्षा, क्षमता विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आगामी दिनमा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

विसं २०३६ साल असार १६ गते स्थापना भएको नेपाल स्वास्थ्य प्राविधिक सङ्घ नेपालको स्वास्थ्य क्षेत्रकै सबैभन्दा पुरानो तथा साझा पेशागत संस्थाका रूपमा परिचित छ। स्वास्थ्यकर्मीहरूको पेशागत हक, अधिकार, मर्यादा तथा सुरक्षाका लागि निरन्तर सक्रिय रहँदै आएको यस सङ्घले स्थापना दिवसलाई सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *