काठमाडौँ महानगरद्वारा शहीद शुक्रराज अस्पताललाई १८०० भाइल रेविजबिरुद्धको खोप प्रदान

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) लाई एक हजार ८०० भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । देशभर रेबिजबिरुद्धको खोप अभावको खबर सार्वजनिक भइरहेका बेला शुक्रबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् ।
सो अवसरमा बोल्दै कार्यबहाक प्रमुख डंगोलले भनिन्, अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोपको अभावले आउने विपदको सामनाका लागि प्रतिकार्य हो ।’
उनले जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो भन्दै यसमा लक्षण पर्खिन नसकिने, लक्षण देखिए पछि उपचार थालौँला भन्न पनि नसकिने भन्दै यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्ने बताईन ।
अस्पतालका निर्देशक डा अनुप बास्तोलाले खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले आफूहरुले महानगरपालिकासँग सहयोग मागेको बताए । उनले भने ‘अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै व्यक्तिहरु रेविज विरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।’
अस्पतालले खोप माग गरेपछिको ७ दिनभित्रै महानगरपालिकाले उपलव्ध गराएको जनाएको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा. बास्तोलाको भनाइ थियो ।
अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

