‘नेपालको स्वास्थ्य प्रणाली अब उपचारमुखी सोचबाट आरोग्यमुखीतर्फ अगाडि बढ्नु पर्छ’

काठमाडौं, ६ असार । नेपालको स्वास्थ्य प्रणाली अब उपचारमुखी सोचबाट आरोग्यमुखी सोचतर्फ अगाडि बढ्नु पर्ने विज्ञहरुले बताएका छन् । उनीहरुले योग, ध्यान, मानसिक स्वास्थ्य, पोषण, जीवनशैली व्यवस्थापन र निवारणमुखी स्वास्थ्य सेवाहरूलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाइनु पर्नेमा जोड दिएका छन् ।
जीवन विज्ञान फाउन्डेसन र अन्नपूर्ण न्युरो अस्पतालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँमा आयोजित ‘वेलनेस इन मोडर्न मेडिसिन : प्रमोटिङ प्रिभेन्टिभ एन्ड प्रमोटिभ हेल्थकेयर फर अ हेल्दियर टुमरो’ विषयक आरोग्य सम्वाद कार्यक्रम विज्ञहरुको निस्कर्ष थियो, ‘औषधिले रोग घटाउँछ, तर आरोग्यमय जीवनशैलीले रोग नै लाग्न दिँदैन । चिकित्साले जीवन बचाउँछ, आरोग्यले जीवनलाई पूर्णता दिन्छ ।’
आरोग्य सम्वाद कार्यक्रममा बोल्दै बरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तले आधुनिक चिकित्सा प्रणाली रोगको उपचारमा केन्द्रित भए पनि दैनिक जीवनशैली, मानसिक स्वास्थ्य, सामाजिक अवस्था तथा आध्यात्मिक पक्षलाई पर्याप्त महत्व दिन नसकेको बताए। उनले स्वास्थ्यका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परिभाषित गरेको शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक आयामलाई समेटेर मात्र समग्र स्वास्थ्य सम्भव हुने उनको भनाइ थियो।
उनले स्वास्थ्यकर्मी स्वयं मानसिक तनाव, चिन्ता र कार्यचापबाट प्रभावित हुने भएकाले स्वास्थ्यकर्मीहरूको आरोग्य तथा मानसिक सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताए। ‘स्वास्थ्य सेवा प्रदायक नै बलियो नभएसम्म बिरामीलाई प्रभावकारी सेवा दिन सकिँदैन,’ उनले भने।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले पछिल्ला वर्षहरूमा नसर्ने रोगको भार तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै उपचारमुखी प्रणालीसँगै रोकथाममुखी र आरोग्यमुखी जीवनशैलीलाई प्राथमिकता दिनुपर्ने बताए। उनले आरोग्यलाई उपचारको विकल्प नभई स्वस्थ जीवनशैलीको आधारका रूपमा लिनुपर्ने धारणा राखे।
शर्माले नेपालले संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गराउन सफल भएको उल्लेख गर्दै विश्वव्यापी रूपमा आरोग्य, ध्यान, योग तथा समग्र स्वास्थ्यसम्बन्धी अवधारणामा नेपालको नेतृत्वदायी भूमिका स्थापित हुने विश्वास व्यक्त गरे। उनले नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरिसकेको उल्लेख गर्दै आरोग्य र वेलनेसलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘नेपाल आरोग्य युगमा प्रवेश गर्दैछ । यो केवल स्वास्थ्य क्षेत्रको कार्यक्रम होइन, राष्ट्र निर्माणको नयाँ अध्याय हो । परम्परागत रूपमा रोग निको पार्नुलाई स्वास्थ्यको मुख्य उद्देश्य मानिएको थियो । तर अब विश्वभर विकसित हुँदै गएको नयाँ चेतनाले स्पष्ट रूपमा देखाएको छ कि साँचो स्वास्थ्य भनेको रोगको उपचार मात्र होइन, रोग नै लाग्न नदिने जीवनशैली, चेतना र संस्कृतिको निर्माण हो,’ उनले भने ।
प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवालले उपचार र आरोग्य एक अर्काका परिपुरक भन्दै स्वास्थ्य नीतिमा यी विषयलाई समेटेर अघि बढाइनु पर्ने बताए ।
कार्यक्रममा आधुनिक चिकित्सा, ध्यान, योग, आयुर्वेद तथा अन्य पूरक स्वास्थ्य अभ्यासहरूबीच सहकार्य र अनुसन्धानको आवश्यकता औंल्याइएको थियो।
सहभागीहरूले स्वास्थ्य क्षेत्रलाई केवल रोग उपचारमा सीमित नराखी रोकथाम, प्रवर्द्धन तथा समग्र जीवनस्तर सुधारसँग जोड्नुपर्नेमा जोड दिएका थिए। साथै, आरोग्य र वेलनेसलाई वैज्ञानिक प्रमाणमा आधारित अभ्यासका रूपमा विकास गर्दै स्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

