एमडीएच फार्मास्युटिकल्सलाई ईएसक्यूआर ‘क्वालिटी अचिभमेन्ट अवार्ड’

32
Shares

काठमाडौँ, ४ असार । एमडीएच फार्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘ईएसक्युआर क्वालिटी एचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ।

बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित युरोपेली गुणस्तर अनुसन्धान समाज (ईएसक्यूआर) को अन्तर्राष्ट्रिय गुणस्तर सम्मेलन तथा पुरस्कार समारोहमा कम्पनीलाई गोल्ड क्याटोगोरी अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो।

कम्पनीका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार औषधीको गुणस्तरप्रतिको प्रतिबद्धता, अनुसन्धान तथा विकास, नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा अन्तर्राष्ट्रियस्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनका आधारमा एमडीएचलाई उक्त सम्मान प्रदान गरिएको हो।

विगत २२ वर्षदेखि नेपालमा पशु स्वास्थ्यसम्बन्धी औषधी तथा पशु आहार पूरक पदार्थ उत्पादन गर्दै आएको एमडीएच फार्मास्युटिकल्स स्वदेशी उद्योगमध्ये अग्रणी मानिन्छ। कम्पनीले पशुपालन तथा कृषि क्षेत्रका लागि आवश्यक गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

स्विट्जरल्याण्डस्थित युरोपेली गुणस्तर अनुसन्धान समाज विश्वभरका उद्योग, व्यवसाय, शैक्षिक संस्था तथा नेतृत्वकर्तालाई गुणस्तर व्यवस्थापन, नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा संस्थागत उत्कृष्टताका आधारमा सम्मान प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो। यस संस्थाले प्रदान गर्ने ‘गुणस्तर उपलब्धि पुरस्कार’ अन्तर्राष्ट्रिय स्तरमा गुणस्तर र उत्कृष्ट व्यवस्थापनको प्रतीकका रूपमा चिनिने गर्दछ।

यसैबीच कम्पनीले नेपाली औषधी उद्योगमा नयाँ इतिहास रच्दै नेपालमै पहिलो पटक दीर्घकालीन श्वासप्रश्वास अवरोधसम्बन्धी रोग (सीओपीडी) तथा दम रोगका बिरामीका लागि ड्रराई पाउडर इनहेलर उत्पादन सफलतापूर्वक सुरु गरेको जनाएको छ। यसबाट हालसम्म आयातमा निर्भर रहेको श्वासप्रश्वाससम्बन्धी अत्यावश्यक औषधीको स्वदेशी उत्पादन सम्भव भएको कम्पनीको दाबी छ।

दाहालका अनुसार अनुसार नेपालकै जलवायु अवस्थालाई मध्यनजर गरी विकसित गरिएका ड्राई पाउडर इनहेलरहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थायित्व परीक्षण सम्पन्न गरिएको छ। उत्पादनको लेबलमा ‘३० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने’ उल्लेख गरिएको छ, जसले नेपालको तापक्रम तथा आर्द्रता अवस्थाअनुसार उत्पादन विकास गरिएको पुष्टि गर्ने कम्पनीको भनाइ छ।

कम्पनीले आगामी दिनमा मानव स्वास्थ्यसँग सम्बन्धित थप अत्यावश्यक औषधीको उत्पादन विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। आगामी वर्षहरूमा ट्याब्लेट, क्याप्सुल, मलम तथा क्रिमजस्ता औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

यसका साथै उच्च प्रविधिमा आधारित जैविक औषधी उत्पादनतर्फ अग्रसर हुँदै इन्सुलिन तथा अन्य जैविक समान प्रकृतिका औषधि नेपालमै उत्पादन गर्ने दीर्घकालीन योजना अनुरूप आवश्यक पूर्वाधार र प्राविधिक तयारी अगाडि बढाइएको कम्पनीले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *