आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन असोजको तेस्रो साता जनकपुरमा हुने
जनकपुर, ३१ जेठ । आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी १६ र १७ असोज (अक्टोबर २ र ३) का दिन जनकपुरमा आयोजना हुने भएको छ। क्यान्सर उपचार तथा सचेतना सम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले विगत आठ वर्षदेखि उक्त सम्मेलन आयोजना गर्दै आएको छ।
सम्मेलनको साइन्टिफिक कमिटीले क्यान्सर तथा रक्तरोग (अन्कोलोजी र हेमाटोलोजी) सम्बन्धी नवीन अनुसन्धान, क्लिनिकल अनुभव तथा उपचार क्षेत्रमा भएका प्रगतिसम्बन्धी अब्स्ट्र्याक्ट पेश गर्न अनुसन्धानकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूलाई आह्वान गरेको छ।
सम्मेलनमा मौलिक अनुसन्धान, गुणस्तर सुधार परियोजना, उपचार परिणामसम्बन्धी अध्ययन, शैक्षिक अनुसन्धान तथा क्यान्सर र रक्तरोगसँग सम्बन्धित दुर्लभ केस रिपोर्ट वा केस सिरिजसम्बन्धी अब्स्ट्र्याक्टहरू पेश गर्न सकिने आयोजक विनयताराले जनाएको छ।
कमिटीका अनुसार उत्कृष्ट १५ वटा अब्स्ट्र्याक्ट छनोट गरी प्रत्येकलाई सम्मेलनमा सहभागी हुन सहयोगस्वरूप १५ हजार रुपैयाँका दरले यात्रा अनुदान प्रदान गरिनेछ। छनोट भएका अब्स्ट्र्याक्टका लेखकहरूले सम्मेलनमा दर्ता गरी आफ्नो अध्ययन प्रस्तुत गर्नुपर्नेछ।
अब्स्ट्र्याक्ट पेश गर्ने अन्तिम मिति आगामी २२ साउन ( ७ अगस्ट २०२६) तोकिएको छ भने स्वीकृतिको जानकारी अन्तिम मितिपछि करिब दुई साताभित्र उपलब्ध गराइने जनाइएको छ।
आयोजकका अनुसार अब्स्ट्र्याक्ट अनिवार्य रूपमा अंग्रेजी भाषामा तयार गर्नुपर्नेछ र शीर्षक, लेखक तथा संस्थागत विवरण बाहेक अधिकतम ३०० शब्दभित्र सीमित हुनुपर्नेछ।
मौलिक अनुसन्धानसम्बन्धी अब्स्ट्र्याक्टमा पृष्ठभूमि, विधि, नतिजा र निष्कर्ष समावेश गर्नुपर्नेछ। त्यस्तै दुर्लभ केस रिपोर्ट तथा केस सिरिजमा पृष्ठभूमि, केस छलफल र निष्कर्ष उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
दुर्लभ केस रिपोर्ट वा केस सिरिजलाई मात्र प्राथमिकता दिइने आयोजकले जनाएको छ। यस्ता अध्ययनमा स्पष्ट नवीनता, शैक्षिक महत्त्व वा नयाँ वैज्ञानिक जानकारी समावेश भएको हुनुपर्नेछ। पहिले रिपोर्ट नगरिएको वा अत्यन्त दुर्लभ क्लिनिकल अवस्था, नयाँ निदान वा उपचार विधि, असामान्य रोग प्रस्तुति वा उपचार प्रतिक्रियासम्बन्धी महत्वपूर्ण जानकारी समेटिएका अध्ययनलाई प्राथमिकतामा राखिने जनाइएको छ।
सबै अब्स्ट्र्याक्ट वैज्ञानिक समितिका सदस्यहरूद्वारा पेयर रिभ्यु प्रक्रियामार्फत मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनका आधारमा वैज्ञानिक गुणस्तर, मौलिकता, क्लिनिकल सान्दर्भिकता, शैक्षिक महत्त्व तथा समग्र प्रस्तुतीकरणलाई समेटिनेछ।
स्वीकृत अब्स्ट्र्याक्टहरूलाई मौखिक प्रस्तुति वा पोस्टर प्रस्तुति माध्यमबाट सम्मेलनमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

