डा. अरुण शाही इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक अन्कोलोजीको नेपाल प्रतिनिधिमा नियुक्त

काठमाडौँ, २४ जेठ । युवा मेडिकल अन्कोेलोजिष्ट डा. अरुण शाही इन्टरनेशनल सोसाइटी अफ जेरियाट्रिक अन्कोलोजी (सिओग) को नेपाल प्रतिनिधिमा नियुक्त भएका छन् ।
सिओग वृद्धवृद्धामा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षामा केन्द्रित अन्तर्राष्ट्रिय संस्था हो ।
स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको सियोग प्रतिष्ठित अन्तर्राष्ट्रिय बहुविधागत संस्था मानिन्छ । सन् २००० मा स्थापना भएको यस संस्थाले विशेषगरी ज्येष्ठ नागरिकमा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाको क्षेत्रमा विश्वव्यापी नेतृत्व गर्दै आएको छ।
डा. शाहीको नियुक्तिसँगै नेपालमा वृद्ध क्यान्सर उपचारसम्बन्धी अनुसन्धान, सेवा विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । सिओगको आधिकारिक वेबसाइटमा उनको नाम र विवरण नेपाल प्रतिनिधिका रूपमा समावेश गरिएको छ ।
यस संस्थामा क्यान्सर रोग विशेषज्ञ, ज्येष्ठ नागरिक विशेषज्ञ तथा स्वास्थ्य अनुसन्धानकर्ताहरू आवद्ध छन्। यसको मुख्य उद्देश्य वृद्धवृद्धामा हुने क्यान्सरको विशेष प्रकृति बुझ्दै उनीहरूलाई गुणस्तरीय र सुरक्षित उपचार सेवा उपलब्ध गराउनु हो।
डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा मेडिकल ओन्कोलोजी विभागका असिस्टेन्ट प्रोफेसर तथा सिनियर कन्सल्टेन्टका रूपमा कार्यरत छन्। बङ्गलादेशको बङ्गबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीबाट मेडिकल ओन्कोलोजीमा एमडी र नोर्थ साउथ युनिभर्सिटीबाट जनस्वास्थ्यमा एमपीएच गरेका उनी युरोपियन सर्टिफाइड मेडिकल अन्कोलोजिस्ट समेत हुन्।
क्यान्सरसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान तथा पुस्तकहरूमा योगदान दिइसकेका डा. शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) र युरोपियन सोसाइटी अफ मेडिकल ओन्कोलोजी (ईस्मो) जस्ता प्रतिष्ठित संस्थासँग पनि आबद्ध छन्।
हालै उनी एस्को लिडरसिप डेभलपमेन्ट प्रोगाम २०२६–२०२७ का लागि चयन भएर अमेरिका पुगेका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
