क्यान्सर विरुद्धको औषधी अभाव :

भारतबाट मात्रै थप ४ हजार भाइल ‘कार्वोप्लाटिन इन्जेक्सन’ ल्याउँदै आयातकर्ता

80
Shares

काठमाडौँ, २२ जेठ । दश दिन अघि आयान लाइफ केयरले बंगलादेशबाट केही सय भाइल कार्बोप्लाटिन इन्जेक्सन आयात गरेपछि क्यान्सर रोगको उपचाररत बिरामीले केही राहत महसुस गरेका थिए । तर,  ल्याइएको औषधी स्टक आउट भएपछि केही दिन देखि पुन: बिरामी र तिनका आफन्तहरु चिन्तित थिए ।

शुक्रबार बेलुका भने फेरी केही राहतको खबर प्राप्त भएको छ ।

नेपाली औषधी आयातकर्ताको दुईवटा कम्पनीले शनिबार देखि मंगलबारसम्म थप ४ हजार भाइल कार्बोप्लाटिन इन्जेक्सन भारतबाट ल्याउँदै छ ।

अहिले देखिएको अभावको परिपूर्ति गर्न पुरानो र ठूलो औषधी आयात गर्ने कम्पनी यतिकेम डिस्ट्रिव्युटर्सले शनिबार बेलुकासम्म १५० एमजीको ५०० भाइल कार्बोप्लाटिन इन्जेक्सन हवाईमार्गबाट ल्याउँदै छ ।

अर्को कम्पनी ताज नेपालले ४५० एमजीको १४०० भाइल र १५० एमजीको २१०० भाइल कार्वोप्लाटिन इन्जेक्सन भारतबाट नै आयात गर्दैछ । स्थलमार्ग हुँदै आइरहेको यो औषधी मंगलबारसम्म काठमाडाँै आइपुग्ने नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले बताए ।

‘अघिल्लो पटक देखिएको अभावलाई बंगलादेशबाट ल्याएर टार्‍यौँ, यसपटक हामी भारतबाट नै केही कम्पनीहरुलाई विशेष अनुरोध गरेर औषधी ल्याउँदै छौँ । नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन हामी रातोदिन लागि रहेका छौँ,’ उनले भने ।

त्यसो त औषधी व्यवस्था विभागले औषधी आयातहरुलाई एक दिन अघि मात्रै औषधीको मौज्दात, उपलव्धता, आयात अवस्थाको बारेमा जानकारी माग गरेको थियो । विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले आयातकर्ताहरुलाई अभाव देखिएका कार्वोप्लाटिन र सिस्पप्लाटिन ल्याएर सहयोग गर्न आग्रह समेत गरेकी थिईन ।

‘हामीले विभागको अनुरोधलाई समेत हेरेर विभिन्न विकल्पहरु र सम्भाव्यताहरुको खोजी गर्‍यौँ र अहिलेका लागि पुन हामी अभाव टार्न सफल हुनेछौँ भन्ने विश्वास छ,’ आचार्यले भने ।

यसअघि शुक्रबार स्वास्थ्य मन्त्री निशा मेहताले विभागको निरीक्षण गर्दै क्यान्सरको बिरामीहरुमा प्रयोगहुने कार्वोप्लाटिन र सिस्प्लाटिन इन्जेक्सनको आयात, उपलव्धताबारेमा चासो राखेकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *