औषधी व्यवस्था विभागमा स्वास्थ्य मन्त्री मेहताको ‘छड्के’

528
Shares

 

काठमाडौँ, २२ जेठ । क्यान्सरको उपचारमा प्रयोग हुने लाइफ सेभिङ औषधीहरुको अभाव भएको खबर आइरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार बिजुलीबजारस्थित औषधी व्यवस्था विभागमा आकस्मिक निरीक्षण (छड्के) गरेकी छन् ।

सो अवसरमा उनले एउटै परिसरमा रहेको राष्ट्रिय औषधी प्रयोगशालाको समेत अनुगमन गरेकी छन् ।

दिउसो साढे २ बजे तिर बिजुलीबजार पुगेकी मन्त्री मेहताले ढेड घण्टा बढी दुई कार्यालयको निरीक्षणमा समय खर्चेकी थिईन ।

पछिल्लो समय क्यान्सर रोगको उपचारमा प्रयोग भईरहेको औषधीको अभाव र विभागमा आएका गुनासाका बारेमा उनले निमित्त महानिर्देशक शिवानी खड्गीसंग जानकारी लिएकी थिईन ।

सो क्रममा मन्त्रीसंग गएको टोलीले औषधी आयातकर्ताहरुले मूल्य बढाउनका लागि कृतिम रुपमा अभावको सिर्जना गरेको त होइन भनेर प्रश्न गरेको थियो ।

मन्त्रीसंग गएको टोलीका केही सदस्यहरुले औषधीको मूल्य बढाउनका लागि व्यापारीहरुले कृतिम अभावको हल्ला फैलाएको भन्ने कुरा आईरहेको छ, ‘तपाई उनीहरुलाई किन कार्वाही गर्नु हुन्न ?’ भन्दै निमित्त महानिर्देशकसंग प्रश्न समेत गरेका थिए ।

जवाफमानिमित्त महानिर्देशक खड्गीले अहिलेको प्राथमिकता जीवन रक्षक औषधीको प्राथमिकता रहेको भन्दै, औषधी आयात गरेको नगरेको विषयमा सुरुमै कार्वाही भन्दा पनि बास्तविकता बुझ्नका लागि आयातकर्तालाई दुई दिन भित्र विवरण पठाउन सार्वजनिक सूचना जारी गरेको स्पष्ट पारेकी थिईन ।

विभागमा जनशक्ति कम र कामको बोझ बढी भएको कारणले गुनासाहरु थपिएको भन्दै निमित्त महानिर्देशक खड्गीले केही जनशक्ति तत्काल पठाईदिनका लागि मन्त्रीको ध्यानाकर्षण गराएकी थिईन ।

‘मन्त्री ज्यू आउनु भयो, औषधी अभावका बारेमा चासो राख्नु भयो, काममा भइरहेका ढिला सुस्ती र गुनासाका बारेमा समेत चासो राख्नु भएको थियो । मैले उहाँका जिज्ञासालाई मेटाउने कोशिस गरेँ । यहाँको समस्या समाधानका लागि मन्त्री ज्यू पनि सकारात्मक हुनुहुन्छ । आशा गरौँ पक्कै पोजेटिभ नतिजा आउला,’ खड्गीले सम्छिप्त प्रतिक्रिया दिईन ।

नेपाल औषधी आयातकर्ता संघ (मियान) ले क्यान्सरको बिरामी उपचार गर्न अत्यावश्यक दुई औषधीहरु कार्बोप्लाटिन र सिसप्लाटिन पुन अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

उसले मन्त्रालय र विभागले लाइफ सेभिङ औषधीको गाम्भियर्ता बुझेर फास्ट ट्रायाकमा समस्या समाधानको बाटो खोल्न सुझाव दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *