अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा. नारायण न्यौपाने, समितिमा अरु को को ?

52
Shares

काठमाडौं, २० जेठ । अमेरिका नेपाल मेडिकल फाउन्डेसनको ३०औं वार्षिक साधारण सभा अमेरिकाको सिकागो, इलिनोयमा सम्पन्न भएको छ। गत  मे २९ देखि ३१, सम्म आयोजित साधारण सभाले डा. नारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

तीन दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा सक्रिय संस्थाको वार्षिक भेलामा अमेरिका तथा नेपालका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, विद्यार्थी र नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नयाँ कार्यसमितिमा अरु को को ?

नयाँ कार्यसमितिको अध्यक्षमा डा. नारायण न्यौपाने चयन हुँदा निवर्तमान अध्यक्षमा डा. विष्णु सापकोटा रहेका छन्। यस्तै उपाध्यक्षमा डा. नविन कैनी, सचिवमा डा. विकास भट्टराई, सह–सचिवमा डा. अनन्त सुवेदी, कोषाध्यक्षमा डा. मनिष गुरागाईं र सह–कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन्।

तीन दिने सम्मेलन अन्तर्गत पहिलो दिन गल्फ तथा फुटबलसहित ‘वेलनेस रिट्रिट’ कार्यक्रम आयोजना गरिएको थियो भने नेपालको सांस्कृतिक विविधता झल्किने सांस्कृतिक कार्यक्रममार्फत साधारण सभाको उद्घाटन गरिएको थियो।

दोस्रो दिन नेपाल, अमेरिका तथा युरोपका विज्ञहरूले स्वास्थ्य क्षेत्रका समसामयिक विषयमा वैज्ञानिक सत्र, सिएमई कार्यक्रम, अनुसन्धानमूलक कार्यपत्र तथा पोष्टर प्रस्तुत गरेका थिए। सोही दिन साँझ आयोजित विशेष गाला डिनरमा संस्थाको ३० वर्षे योगदानको स्मरण गर्दै उत्सव मनाइएको थियो।

तेस्रो दिन खुला बोर्ड बैठक आयोजना गरी संस्थाको आगामी रणनीति, पारदर्शिता तथा नेपालको स्वास्थ्य क्षेत्रमा प्रभावकारी योगदान विस्तारका विषयमा छलफल गरिएको जनाइएको छ।

संस्थाका अनुसार वार्षिक साधारण सभा तथा गाला डिनरमार्फत नेपालमा सञ्चालन गरिने आगामी स्वास्थ्य परियोजनाका लागि १ लाख २९ हजार ६ सय ४ अमेरिकी डलर आर्थिक सहयोग संकलन भएको छ।

सन् १९९६ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन गैरनाफामूलक संस्था हो। फाउन्डेसनले नेपालमा स्वास्थ्य सेवा सुधार, शैक्षिक कार्यक्रम, विपद् व्यवस्थापन तथा स्वास्थ्य अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा ३०० भन्दा बढी परियोजना सञ्चालन गरिसकेको जनाएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *