पाल्पा: पूर्वखोलामा २४ पटक बृद्धि अनुगमन गर्ने बच्चाका अभिभावक पुरस्कृत

20
Shares

पाल्पा, १९ जेठ । त्यसो त सून्य होम डेलिभरी भएको पालिका, पूर्ण खोपयुक्त पालिका, बाल तथा शिशुमृत्यु दर सून्य भएको पालिका लगायत स्वास्थ्यका सबैजसो इन्डिकेटरमा पुरा गरी सतप्रतिशत नतिजा दिने पालिकामा गनिएको छ पूर्वखोला गाउँपालिका ।

तर,  यी नतिजाहरु यत्तिकै प्राप्त भएका  भने  होइनन् । पालिकाले निरन्तर अनुगमन मूल्यांकनसंगै आम अभिभावक र बालबालिकाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम निरन्तर चलाई रहेको हुन्छ । त्यसले सत् प्रतिशत नतिजाका लागि सहयोग भइरहेको छ ।

यहि सिलसिलालाई निरन्तरता दिने क्रममा सोमबार देखि गाउपालिकाले २४ पटक बृद्धि अनुगमन गर्ने बच्चाका अभिभावकहरुलाई पुरस्कृत गर्ने र पोषणको महत्वबारेमा जानकारी दिने कार्यक्रम सञ्चालन गरेको छ ।

जन्मे देखि २४ महिनासम्म २४ पटक स्वास्थ्य संस्थामा पुगेर बृद्धि अनुगमन गर्ने बच्चाका अभिभावकलाई पुरस्कृत गर्ने यो कार्यक्रम पालिकाले सुरु गरेको तीन वर्ष भईसकेको छ ।

पछिल्लो दुई वर्ष देखि यो कार्यक्रममा सत प्रतिशत नतिजा निस्किएको छ ।

‘पालिका भित्र २४ महिना मुनिका बालबालिका १५० जना छन् । सबैको स्वास्थ्य संस्था भिजिट लक्ष्य अनुसार अर्थात २४ पटक नै पुगेको छ । ती अभिभावकहरुलाई गाउँपालिकाको स्वास्थ्य शाखाले पुरस्कृत गर्ने कार्यक्रम सुरु गरेका छौँ,’ पालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भने ।

सोमबार पूर्वखोला वडा नं २ का १४ जना बालबालिका र तिनका अभिभावकलाई जल्पामा पुगेर गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पुरस्कृत गरे । वडा अध्यक्ष निरबहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य प्रमुख ढकाल लगायतका स्वास्थ्यकर्मीहरुले बालबालिकाको स्वास्थ्य र पोषणका बारेमा सचेतनामुलक प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रम मंगलबार पालिकाको वडा नं ३ रिङ्नेरहमा भएको थियो ।

२४ महिनासम्म निरन्तर बृद्धि अनुगमन गर्ने १७ जना बच्चाका अभिभावकहरुलाई वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले नगद सहित सम्मान गरेका थिए । यसैगरी बुधबार वडा नं १ सिलुवा , त्यसपछि वडा नं ४ बीरकोट, वडा नं ४ देवीनगर र वडा नं ६ हेकलाङमा आयोजना हुने स्वास्थ्य प्रमुख ढकालले बताए ।

‘खास हामीले बच्चाको स्वास्थ्यलाई निरन्तर निगरानी गर्नका लागि यो अभियान सुरु गरेका हौँ । बृद्धि अनुगमनमा बच्चाको तौल, पाखुरा जाँच लगायतका परीक्षण हुने र आवश्यक पोष्टिक तत्वबारे बच्चाको आमा वा अभिभावकलाई जानकारी गराउने काम हुन्छ । यो अभियान सुरु गरेको तीन वर्ष भयो । पछिल्लो दुई वर्ष देखि सबै जना नियमित रुपमा आउनु भएको छ । पुरस्कार पनि पाईरहनु भएको छ ।’

पालिकाले अघिल्लो वर्ष सरसफाइका सामग्रीहरु दिने गरेको थियो भने । यसपटक भने अभिभावकहरुलाई ४ सय रुपैयाँ पुरस्कार दिइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *