नेपाल चिकित्सक संघको बागडोर डा. बद्री रिजालको नेतृत्वको नयाँ टिमले सम्हाल्यो

भरतपुर, १८ जेठ । नेपाल चिकित्सक संघको नव निर्वाचित कमिटिले आइतबारबाट जिम्मेवारी सम्हालेको छ । गत बैशाख महिनामा सम्पन्न निर्वाचनबाट डा. बद्री रिजाल नेतृत्वमा संघको नयाँ निर्वाचित टिम आएको थियो ।
अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन–२०२६) को दोस्रो दिन आइतबार आयोजित समारोहमा डा. अनिल बिक्रम कार्की नेतृत्वको समितिले डा रिजाल नेतृत्वको समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
गत बैशाखमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा डा. बद्री रिजाल आएका थिए । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी निर्वाचित भएका थिए । यस्तै उपाध्यक्ष एवं प्रदेश संयोजक तर्फ कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा. सुवाश भट्टराई विजयी भएका थिए । यस्तै गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएका थिए ।
महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल तथा सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित भएका थिए।
सदस्यहरुमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य विजयी भएका थिए ।
आइतबारको कार्यक्रममा प्रमुख अतिथि बनेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले नेपाल चिकित्सक संघलाई नेपालको जनस्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाको रुपमा उल्लेख गर्दै प्रशंसा गरे । उनले चिकित्सक र बिरामी दुवैका लागि सहज हुने नीतिगत वातावरण तीनै तहका सरकारले सुनिश्चित गर्नुपर्ने बताए।
नवनिर्वाचित अध्यक्ष डा. रिजालले उपचार सेवामा लगाइएको तीन प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग माग गरे। उक्त करले बिरामीमाथि अतिरिक्त आर्थिक भार थप्ने भन्दै उनले चिकित्सकीय पेसालाई विशिष्टीकृत पेसाका रूपमा मान्यता दिई सोहीअनुसार सेवा–सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे। चिकित्सकको श्रमको उचित मूल्यांकन हुन नसकेको भन्दै उनले बजेटमा भएका व्यवस्थाहरू पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे।
निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकार र चिकित्सकबीच दूरी बढ्दै गएको टिप्पणी गर्दै चिकित्सकका समस्या र जनस्वास्थ्यका मुद्दाप्रति सरकार पर्याप्त संवेदनशील नभएको बताए। उनले चिकित्सकहरूले अत्यधिक कार्यभार व्यहोर्नुपरेको र छात्रवृत्ति करारका चिकित्सकहरू अन्यायपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे।भन
समारोहमा चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीलाई सम्मान गरिएको थियो। साथै, वरिष्ठ चिकित्सकद्वय डा। मदनकुमार पिया र डा। ऋषिकुमार अधिकारीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो।
त्यसैगरी ‘जेएनएमए–खड्गनन्दा मेडिकल रिसर्च अवार्ड’ डा. मेघा कोइरालालाई तथा ‘एनएमए सज्जनश्याम ट्रस्ट अवार्ड’ डा. उमाकान्त तिवारी र डा. प्रणाम जैरूलाई प्रदान गरिएको छ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
