काठमाडौँमा निशुल्क क्यान्सर परीक्षण शिविर, प्राविधिक सहयोग लिएर आयो भक्तपुर क्यान्सर अस्पतालको टोली

काठमाडौं, १६ जेठ । गत महिना क्यान्सर स्क्रिनिङ तथा परीक्षण शिविर गर्न मध्ये तराईका विभिन्न जिल्ला पुगेको भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकीय तथा प्राविधिक टोली आज शनिबार दिनभर भने संघीय राजधानी काठमाडौँकै गैरीगाउँ वरपर बस्ने महिला दिदी बहिनीलाई क्यान्सर परीक्षण गर्न व्यस्त रह्यो ।
सो टोलीले तिनकुनेस्थित नाशा इन्टरनेशनल कलेज परिसरमा भेला भएका महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ साथै प्याप स्मियर गरी पाठेघरको मुखको क्यान्सर परीक्षण गरेको छ ।
शिविरको आयोजना महिला शान्ति तथा स्वावलम्बन केन्द्र नेपालले गरेको थियो भने काठमाडौँ महानगरपालिका वडा नं ९ को आर्थिक सहयोग थियो । उक्त शिविरलाई प्राविधिक सहयोग भने भक्तपुर क्यान्सर अस्पतालले गरेको थियो । साथै अरु केही संस्थाले पनि शिविरका लागि हातेमालो गरेका थिए ।
शिविरमा करिब २०० महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस क्रममा केही महिलामा थप जाँच आवश्यक देखिएकाले उनीहरूलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ ।
शिविरमा विशेषगरी महिलामा बढी देखिने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को स्क्रिनिङ गरिएको थियो। साथै क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथामका उपाय तथा समयमै परीक्षण गराउँदाका फाइदाबारे सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको नेतृत्वमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण शिविरमा डा। सनम खाइजु, सिस्टर शान्ता, राजमतीलगायत १२ जना स्वास्थ्यकर्मीको सहभागिता थियो।
शिविरमा सहभागी महिलाको निःशुल्क प्याप स्मियर परीक्षण समेत गरिएको थियो। थप परीक्षण वा उपचार आवश्यक पर्ने महिलालाई भक्तपुर क्यान्सर अस्पतालमार्फत निःशुल्क सेवा उपलब्ध गराइने प्राविधिक टोलीको नेतृत्व गरेका डा. चालिसेले बताए ।

शिविरको उद्घाटन गर्न प्रतिनिधिसभा सदस्य सुनिल केसी पुगेका थिए । सो अवसरमा बोल्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्रमुख प्राथमिकतामध्ये एक भएको बताए । उनले क्यान्सरजस्ता जटिल रोगको रोकथाम, प्रारम्भिक पहिचान तथा उपचार सेवामा पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको दावी गरे ।
आयोजक संस्था महिला शान्ति तथा स्वावलम्बन केन्द्रकी अध्यक्ष बाला शर्माले महिलामा बढ्दो क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको बताइन्। उनले स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे सही जानकारी र नियमित परीक्षणले धेरै महिलाको जीवन बचाउन सकिने भएकाले समुदायस्तरमै यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन् ।
नेपाल क्यान्सर विजेता समाजकी अध्यक्ष प्रमिता खनालले क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न संघसंस्था तथा स्थानीय समुदायसँग सहकार्य गरी वर्षभर देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले समयमै रोग पहिचान गर्न सके उपचारको सफलता दर उल्लेखनीय रूपमा बढ्ने भएकाले नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिन्।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार क्यान्सरको समयमै पहिचान र उपचारले मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता निःशुल्क स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा अझ प्रभावकारी मानिन्छन्।
शिविरसंगै प्राविधिक टोलीले स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे सचेतनामुलक प्रस्तुति समेत दिएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
