भक्तपुर क्यान्सर अस्पतालद्धारा सप्ताहव्यापी रुपमा क्यान्सर स्क्रिनिङ तथा सुर्तीजन्य पदार्थको लत छुटाउने अभियान सञ्चालन गर्दै

काठमाडौँ, १५ जेठ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले सप्ताहव्यापी मुखको क्यान्सर स्क्रिनिङ तथा सुर्तीजन्य पदार्थको कुलत छुटाउन निःशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालले आगामी १७ जेठ देखि २२ जेठसम्म विशेष कार्यक्रम सञ्चालन गरी मुख स्वास्थ्य परीक्षण, सुर्तीजन्य पदार्थको असरबारे परामर्श तथा कुलत त्याग्न मनोसामाजिक सहयोग उपलब्ध गराइने जनाएको छ।
अस्पतालका अनुसार कार्यक्रमअन्तर्गत विभिन्न विभागमार्फत विशेष सेवा प्रदान गरिनेछ। जसमा वेलनेस क्लिनिकमार्फत सुर्तीजन्य पदार्थको कुलत छुटाउन स्वस्थ जीवनशैली सम्बन्धी परामर्श तथा मार्गदर्शन दिइनेछ भने ईएनटी ओपीडीमार्फत घाँटी, नाक, कान तथा मुखसम्बन्धी परीक्षण तथा परामर्श गरिनेछ।
त्यसैगरी डेन्टल ओपीडीमार्फत मुखको क्यान्सर स्क्रिनिङ, मुख स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । मनोपरामर्श विभागले सुर्ती तथा धूम्रपानको लत छुटाउन मनोवैज्ञानिक सहयोग र काउन्सेलिङ सेवा प्रदान गर्ने जनाएको छ।
‘प्रोटेक्टिङ चिल्ड्रेन फ्रम टोबाको इन्डस्ट्री इन्टरफेरेन्स’ भन्ने नारासहित सञ्चालन हुने कार्यक्रममार्फत विशेषगरी युवापुस्तालाई सुर्तीजन्य पदार्थको दुष्प्रभावबारे सचेत बनाउने लक्ष्य राखिएको अस्पतालले जनाएको छ।
अस्पतालले इच्छुक व्यक्तिलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन आग्रह गरेको छ।
विश्व सुर्तीजन्य पदार्थरहित दिसव आगमी ३१ मे अर्थात १७ जेठका दिन विश्वभर मनाईने गरिन्छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
