क्यान्सर रोगमा प्रयोग हुने औषधीे अभावको शंकट तत्कालका लागि पार लाउँदै नेपालका औषधी आयातकर्ता

काठमाडौँ, १० जेठ । क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधीको अभाव न्युनिकरण गर्न नेपालका औषधी आयातकर्ताहरु तत्कालका लागि सफल भएका छन् ।

पछिल्लो केही दिन यता क्यान्सरका बिरामीका लागि केमोथेरापीमा प्रयोग हुने औषधीहरु सिस प्लाटिन र कार्बोप्लाटिनको अभाव भएको थियो ।

तीन दिन अघि मात्रै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधी व्यवस्था विभागका अधिकारी र नेपाल औषधी आयातकर्ता संघका प्रतिनिधीहरुलाई बोलाई अभाव भएका औषधीहरु सहज रुपमा उपलव्ध गराउन मिलेर अघि बढ्न आग्रह गरेको थियो । सोही दिन देखि आयातकर्ताहरुले विभागसंग समन्वय गरेर औषधी आयात गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले मौज्दात औषधीको समूचित वितरण मिलाइएको र थप औषधीहरु वंगलादेशबाट आउन थालेको बताए । ‘अवस्था अहिले पनि  अभाव नै हो, किनभने विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पेट्रोकेमिकलमा आधारित औषधी र त्यसमा प्रयोग हुने बस्तु निर्माणमा समस्या पैदा भईरहेको थियो । उत्पादक कम्पनीहरुले मूल्य बढाई रहने नेपालले भने यथास्थितिमै ल्याउ भन्ने अवस्था रहँदा आयात समेत प्रभावित भएको थियो । अहिले पनि विश्वबजारमा यी औषधीहरु अभाव नै छ । तर हामीले आफ्ना कम्पनीहरुलाई विशेष आग्रह गरेर, तत्कालको संकट टार्ने गरी औषधीहरु उपलव्ध गराउन थालेका छौँ,’ अध्यक्ष आचार्यले भने ।

उनका अनुसार अहिले आयान लाइफ केयर कुपण्डोलले बंगलादेशबाट ८०० भाइल कार्वोप्लाटिन ल्याएको छ भने सिस प्लाटिनको पनि आवश्यक व्यवस्था मिलाउँदै छ । यस्तै अन्य आयातकर्ताहरुले पनि विस्तारै यी औषधीहरु आयातका लागि प्राथमिकता दिन थालेका छन् ।

‘हामीकाहाँ आजै आएको १५० एमजीको ३५० भाइल र ४५० एमजीको ४५० भाइल कार्वोप्लाटिन आइसकेको छ । सिस प्लाटिन पनि आइसकेको अवस्था छ । अरु थप औषधीहरु आउने क्रममा छ । केही बजारमा रहेको मौज्दात पनि छ । त्यसैले तत्कालको समस्या टर्छ । तर यो स्थायी भने होईन । सरकारले स्वचालित मूल्य प्रणाली लागू गर्नै पर्छ,’ आचार्यले भने ।

आयान लाइफ केयरका मार्केटिङ म्यानेजर कमाल उज्माले नेपालमा यी औषधीहरु अभाव देखिए पछि आफ्नो कम्पनीले बंगलादेशबाट फास्ट ट्रयाकमा औषधी आयात गरेको बताए । उनले भने ‘प्रतिभाइल हामीलाई ६५० देखि १००० रुपैयाँ घाटा नै छ । तर यो अभावका बेलामा हामीले घाटा खाएरै औषधी आयात गरेका छौँ र नागरिकको ज्यान बचाउनका लागि सहयोग गरेका छौँ ।’

आयातकर्ता संघको समन्वयमा कम्पनीले आज विभिन्न अस्पतालबाट औषधी खोज्दै आएका ५० बढी बिरामीका आफन्तलाई प्रेस्किप्सन एकिन गरी औषधी उपलव्ध गराएको जनाएको छ । त्यसमा पाटन, सिभिल, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण, नेपाली सेना लगायतका अस्पतालका बिरामी र तिनका आफन्तहरु थिए ।

संघको अध्यक्ष आचार्यले संकट टार्नका लागि यसपटक स्वास्थ्य सचिव डा विकास देवकोटा र औषधी व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गी, किरण सुन्दर बज्राचार्य लगायतको भूमिका निकै नै सहयोगी र समन्वयकारी भएको टिप्पणी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *