क्यान्सरको उपचारमा प्रयोग हुने औषधीको तत्काल सहज आपूर्तिका लागि मन्त्रालयमा बैठक

काठमाडौँ, ८ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारमा प्रयोग हुने औषधीको तत्काल आफूर्तिको व्यवस्था मिलाउने सन्दर्भमा औषधी आयातकर्ता संघका प्रतिनिधिसंग छलफल गर्दैछ ।
औषधी व्यवस्था विभागका अधिकारीहरुलाई संगै राखेर स्वास्थ्य सचिव डा विकास देवकोटाले नेपाल औषधी आयातकर्ता संघका प्रतिनिधिहरुसंग छलफल गरिरहेका छन् ।
केही दिन देखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधी ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’को चरम अभाव भएको भन्दै उपचारमा सम्लग्न विभिन्न अस्पतालका चिकित्सकहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । संसदमा समेत यस विषयमा दिनहुँ आवाज उठाएका थिए ।
सरकारले मूल्य तोकेका ९८ प्रकारका औषधीहरुको सूचीमा यी औषधी पनि पर्ने तर लामो समय देखि मूल्य समायोजन नहुँदा आयात गर्न नसकिएको औषधी आयातकर्ताहरुले बताउँदै आएका छन् ।
‘पछिल्लो समय पश्चिम एसिया युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा समेत असहज भएको भन्दै औषधी निकै महंगो भएर आएको उनीहरुको दावी छ । राजपत्रमा तोकिएको मूल्यमा औषधी ल्याउन अफ्टेरो भयो । सरकारले मूल्य समायोजन गर्दैन, यहाँ तोकिएको मूल्यमा औषधी आउँदैन । त्यसैले समस्या भएको हो,’ नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले भने ।
यता स्वास्थ्य सचिव डा विकास देवकोटाले औषधीको अभाव हटाउने उपायका विषयमा विभिन्न कोणबाट छलफल भइरहेको बताए । उनले नीतिगत अफ्टेराहरुलाई फुकाएर अघि बढ्नुपर्ने अवस्था भएमा पनि आफूहरुले विकल्प खुल्ला छाडेको बताए ।
‘औषधी अभाव त हुन दिनु भएन । औषधी व्यवस्था विभागलाई के कस्ता समस्या छन् कसरी समाधान हुन्छ भनेर उपाय खोज्नु भनेको छु । उहाँहरुले विकल्प दिएपछि मन्त्रालयले आवश्यक कदम चाल्छ,’ डा देवकोटाले भने ।
‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधि विशेष गरी फोक्सोको क्यान्सर, अण्डकोष, अण्डाशय, मूत्राशय र मिर्गौलाको क्यान्सरको उपचारमा प्रयोग गरिन्छ। यी दुई औषधी प्राय अन्य क्यान्सर औषधी सँग मिलाएर प्रयोग गरिन्छन्।
क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोषिकाहरु शरिरमा फैलने जोखिम हुने हुँदा चिकित्सकहरु कुनै पनि क्यान्सरको उपचारमा ढिलाइ गर्दैनन्। तर, अहिले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा स्वयम् क्यान्सर रोग विशेषज्ञहरुले नै सरकारसँग यी औषधि द्रुतमार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन्।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

