डाक्टरको रुपमा आधुनिक औषधी सिफारिस गर्न मेडिकल काउन्सिलमा दर्ता अनिवार्य

काठमाडौँ, ७ जेठ । नेपाल मेडिकल काउन्सिलले आफूकहाँ दर्ता नभएका कुनै पनि स्वास्थ्यकर्मीले ‘डाक्टर’ उपाधी प्रयोग गरी आधुनिक औषधी सिफारिस गरेको पाइएमा कडा कार्वाही गरिने बताएको छ । पछिल्लो समय कतिपय विधा वा परिषदमा दर्ता भएका वा नभएका व्यक्तिहरुले नाम अगाडी ‘डा.’ उपाधी प्रयोग गरि आधुनिक चिकित्साको भ्रम सिर्जना गरेको काउन्सिलको भनाई छ ।
काउन्सिलले आज विज्ञप्ती जारी गर्दै यदि यसरी उपाधी प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधीको सिफारिस गरेको पाइएमा काउन्सिल ऐन को दफा २६ को उपदफा (१) र दफा २७ को उपदफा (१) बमोजिमको व्यवस्था विपरित भएको ठहरिने र दफा २६, उपदफा ३ र दफा २७ को उपदफा (१) बमोजिमको व्यवस्था विपरित भएको ठहरिने बताएको छ ।
यस अवस्थामा त्यस्ता व्यक्तिमाथि तीन वर्ष कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायका लागि सिफारिस गरिने समेत निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
काउन्सिलले आफूकहाँ दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्धारा चिकित्सक उपाधी प्राप्त गरेका बाहेक अन्य सम्बन्धित परिषद्मा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिहरुले आफ्नो नामको अगाडी डाक्टर उपाधी प्रयोग गरेको भए १५ दिन भित्र हटाउन वा क्लिनिकको बोर्ड, भिजिटिङ कार्ड वा सम्पूर्ण सामाजिक सञ्जालबाट पूर्ण रुपमा हटाउन समेत निर्देशन दिएको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ, ‘स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयहरुबाट प्रमाणपत्रमा डाक्टर शव्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रुपमा चिकित्सकीय अभ्यास गर्ने अनुमति स्वत प्राप्त भएको होईन । नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत विरामीको उपचार गर्ने परामर्श दिने र नामको अगाडी डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन २०२० बमोजिम यस काउन्सिलमा दर्ता भएका चिकित्सकहरुमा मात्रै निहित रहेको स्पष्ट पारिन्छ ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

