गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा, ७ जेठ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
उनका अनुसार कोल्टी आधारभूत अस्पतालमा गर्भवतीको अवस्था थप जटिल भएको पत्र आएपछि महिला, बालबालिका मन्त्रालयको समन्वयमा थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
गर्भवतीको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लगातार छ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको र यौनीबाट लगातार पानी बगीरहेकाले रिफर गरिएको कोल्टी आधारभूत अस्पताल कोल्टीले जनाएको छ ।
दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

