जनकपुरमा बन्ने विनयतारा क्यान्सर अस्पतालको वातावरणीय मूल्यांकन पास, चाँडै निर्माण थालिने

44
Shares

जनकपुर, ७ जेठ ।  मधेश प्रदेशको जनकपुरमा निर्माण हुन लागेको २०० शय्याको विनयतारा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्राचार गर्दै ईआईए प्रतिवेदन स्वीकृत गरिएको जानकारी दिएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका–२५ मा निर्माण तथा सञ्चालन हुने प्रस्तावित अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएसँगै अब निर्माण प्रक्रिया अघि बढ्ने भएको छ।

विनयतारा क्यान्सर ट्रस्टका संस्थापक डा. विनय शाहले सरकारी स्तरबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति प्राप्त हुनु परियोजनाका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “जनकपुरस्थित विनयतारा क्यान्सर अस्पताल परियोजनाले नेपाल सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति पाएको घोषणा गर्न पाउँदा अत्यन्त उत्साहित छु। यसले २०० शय्याको अत्याधुनिक अस्पताल निर्माण सुरु गर्ने दिशामा महत्वपूर्ण बाटो खोलेको छ।”

उनका अनुसार अस्पताल निर्माणपछि मधेश प्रदेश र आसपासका क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा विश्वस्तरीय तथा सहज क्यान्सर उपचार सेवा पाउनेछन्।

सन् २०२४ देखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि वातावरणीय प्रभाव मूल्यांकनलगायत विभिन्न सरकारी स्वीकृतिमा समय लाग्दा परियोजना केही ढिला भएको डा. शाहले बताएका छन्।

उच्च शिक्षा अध्ययनका लागि सन् २००३ मा अमेरिका पुगेका डा. शाहले आफू भौतिक रूपमा अमेरिकामा रहे पनि मन सधैं नेपालमै रहेको बताएका छन्।

उनले नेपालमै विश्वस्तरीय क्यान्सर उपचार केन्द्र स्थापना गर्ने सपना बोकेको उल्लेख गर्दै भने, “म आज जे छु, त्यो नेपालले बनाएको हो। सरकारी विद्यालयमा पढें, सरकारी कोटामै एमबीबीएस गरें। अब यही देशको क्यान्सर उपचार क्षेत्रमा केही योगदान दिन चाहन्छु।”

उनका अनुसार अस्पताललाई अत्याधुनिक प्रविधिसहित दक्ष चिकित्सकीय सेवायुक्त बनाइनेछ। करिब ४ बिघा क्षेत्रफलमा निर्माण हुने अस्पताललाई पूर्ण रूपमा ‘पेपरलेस’ बनाउने योजना रहेको पनि उनले बताए।

विनयतारा फाउन्डेसनले हरेक वर्ष विश्वका चर्चित चिकित्सकलाई जनकपुर ल्याएर ‘क्यान्सर कंग्रेस’ आयोजना गर्दै आएको छ। आगामी कार्यक्रम मार्च १६ मा तय गरिएको जनाइएको छ।

अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था विनयतारा फाउन्डेसनले क्यान्सरसँग सम्बन्धित सम्मेलन, सीएमई कार्यक्रम तथा दातृ सहयोगमार्फत संकलित कोषलाई नेपाल तथा दक्षिण एशियामा क्यान्सर उपचार र जनचेतनाका क्षेत्रमा परिचालन गर्दै आएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *