‘न डाक्टर, न त छ उपकरण, उपचार नपाई हुने हो कि मरण ?’ – सांसद रमेश मल्ल

काठमाडौं ६ जेठ, । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभाव भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संसदमा उनले केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई ‘विशेषज्ञ चिकित्सक उपलब्ध छैन’ भन्दै अस्पतालको गेटबाटै फर्काइएको घटना सार्वजनिक भएको उल्लेख गरे। यो घटनाले सल्यानको समग्र स्वास्थ्य समस्याको कारुणिक चित्र देखिएको भन्दै सरकारले गम्भीर भएर कदम चाल्न आग्रह गरे ।
मल्ल सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । उनले सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको सल्यान अस्पताल अहिले एक जना चिकित्सकको भरमा सञ्चालन भइरहेको, अस्पतालको पूर्वाधार निर्माणको काम व्यवस्थापकीय कमजोरी, सरकारी उदासीनता र निर्माण व्यवसायीको गैरजिम्मेवारपनका कारण अलपत्र परेको समेत उल्लेख गरे ।
जिल्ला अस्पतालमा आवश्यक उपकरण अभावका कारण सामान्य शल्यक्रियासमेत प्रभावित भइरहेको उनको भनाइ थियो ।
त्यसैगरी सांसद मल्लले प्रत्येक पालिकामा १५ शैयाको आधारभूत अस्पताल बनाउने सरकारी घोषणा पनि अधिकांश ठाउँमा अलपत्र रहेको बताए । उनले दुई पटक विज्ञापन गर्दा समेत कर्णाली प्रदेशमा ७६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहनु दुस्खद भएको उल्लेख गर्दै यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न समेत गरे ।
तत्कालका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी फर्किएका विशेषज्ञ चिकित्सकलाई प्रदेश सरकारमार्फत जिल्ला अस्पतालमा खटाउने व्यवस्था गर्न उनले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
युवा र पढा लेखा सांसद बाहुल्य यसपटकको प्रतिनिधि सभामा स्वास्थ्यका विषयहरुले प्राथमिकता पाएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

