राप्रपा संसदीय दलका नेता शाही भन्छन्, ‘स्वदेशी औषधी उद्योग गम्भीर संकटमा पर्‍यो’

48
Shares

काठमाडौँ, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेपाल औषधी उद्योगको गम्भीर संकटमा परेको भन्दै सरकारले स्वदेशी उत्पादन प्रवर्द्धनको नीति अघि सार्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले नेपालमा अत्यधिक आयात र कमजोर औषधी नीतिका कारण करीव ५० स्वदेशी उद्योग सिक युनिटको अवस्थामा पुगेको र १० हजार बढी कामदार बेरोजगार बन्न बाध्य भएको उल्लेख गरेका छन् ।

दुःखको कुरा भन्दै उनले नेपालमै उत्पादन गर्न सकिने करिब ५० प्रतिशत औषधी विदेशबाट आयात भइरहेको ठोकुवा गरेका छन् । उनले यसबाट स्वदेशी उद्योग मात्र नभई देशको आत्मनिर्भरता र रोजगारीमाथि पनि ठूलो प्रहार गरेको दावी गरेका छन् ।

‘यदि आज स्वदेशी उद्योग जोगाउन सकिएन भने भोलि हामी पूर्ण रूपमा विदेशी औषधिमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले सरकारले तत्काल आयात नियन्त्रण, स्वदेशी उत्पादन प्रवर्द्धन र नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’को नीति ल्याउन नेपाल सरकारलाई हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।

शाहीले सामाजिक सञ्जालमा स्वदेशी औषधीको कुरा गरिरहँदा उता प्रतिनिधि सभा सदस्य भरत गिरीले आज बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै स्वदेशी औषधी उद्योगको प्रवर्द्धनका लागि ध्यानाकर्षण गराएका थिए ।

उनले क्यान्सरमा प्रयोग हुने केमोथेरापिका लागि चाहिने विभिन्न औषधीहरु अभाव भएको गुनासो आइरहेको भन्दै तत्काल आयातको व्यवस्था मिलाउन समेत सरकारसंग माग गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *