नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रार बनिन् नुजन शर्मा

काठमाडौँ, ३ जेठ । नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी नुजन शर्माले पाएकी छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा कार्यरत अस्पताल नर्सिङ प्रशासक (नवौँ तह) शर्मालाई स्वास्थ्य मन्त्री निशा मेहताले गत २८ बैशाखमा मन्त्रीस्तरीय निर्णय गर्दै शर्मालाई परिषद् निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी हुन् ।
‘नर्सिङ परिषद्मा अर्को व्यवस्था नहुँदासम्मका लागि रजिष्ट्रारको जिम्मेवारी पनि सम्हाल्नु पर्ने भएको छ । मन्त्रालय र परिषद् गरी दोहोरो जिम्मेवारीमा छु । हरेक दिन कार्यालयको सुरुवाती समय मन्त्रालयको कामकाज गर्छु र दिउसो परिषद्को नियमित काम गर्न पुग्छु,’ शर्माले भनिन् ।
यसअघि परिषद्को रजिष्ट्रार शुक्ला खनाल थिईन् ।
सरकारले अघिल्ला सरकारको पालामा नियुक्त सार्वजनिक पदाधिकारीहरुलाई एकैपटक पदमुक्ती गर्न ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ गत १९ बैशाखमा राजपत्रमा प्रकाशित भएपछि खनालसहित परिषद्का अध्यक्ष तथा नियुक्ती प्राप्त अन्य पदाधिकारीहरु पदमुक्त भएका थिए ।
अन्य पदहरुमा विस्तारै नियुक्ती प्रक्रिया बढाउने योजनामा रहेको सरकारले दैनिक कामकाजका लागि आवश्यक पर्ने रजिष्ट्रार पदका लागि अहिले निमित्त तोकेको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



