सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ र गुलियो पेय पदार्थमा करको दर बृद्धि गर्न ध्यानाकर्षण

काठमाडौँ, ३१ बैशाख । मानव स्वास्थ्यका लागि हानीकारक बस्तुहरुमा करको दर भारीमात्रामा बृद्धि गर्न नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले सरकारको ध्यानाकर्षण गराएको छ ।
एनडीआरआईको टोलीले सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ र गुलिया पेय पदार्थमा भारी मात्रा कर बृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ मन्त्री डा स्वर्णिम वाग्ले, राजश्व सचिव भुपाल बराल, स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा विकास देवकोटा र आन्तरिक राजश्व विभागका निमित्त महानिर्देशक रमेश अर्याल लगायतका पदाधिकारीहरुलाई भेटी कर जनस्वास्थ्यमा गम्भीर असर पार्ने यस्ता बस्तुहरुमा करको दर बढाउन ध्यानाकर्षण गराएको हो ।
‘हामी चाहन्छौँ यी बस्तुहरुका भारी मात्रामा कर बढाइयोस, जसले गर्दा मूल्य बढोस् र सेवन दरमा कमि होस । त्यसैले अहिले यी वस्तुहरुमा लाग्दै आएको करको अवस्था, ती बस्तुहरुको प्रयोगले जनस्वास्थ्यमा पारेको प्रभाव र किन कर बढाउनै पर्ने भन्ने विषयमा दस्तावेज सहित हामीले ज्ञापन पत्र बुझाएका हौँ,’ एनडीआरआईका प्रमुख डा जयकुमार गुरुङले भने ।
उनले अहिले बलियो सरकार भएकोले करका दरमा बलियोसंग परिवर्तन हुने अपेक्षा गरिएको भन्दै त्यसैलाई ध्यानाकर्षण गराउने काम भएको समेत बताए ।
हुन पनि नेपालमा सुर्तीजन्य पदार्थको सेवनले बार्षिक ३९ हजार २०० बढीको ज्यान जाने गरेको छ । ४५ अर्व बढी यसको कारणले लाग्ने रोगको उपचारमा खर्च हुने गरेको छ । तर करको दर ३० प्रतिशतकै वरपर अड्केको छ ।
मदिराजन्य पदार्थमा पनि करको दर ३० प्रतिशतकै हाराहारीमा रहेको छ । गुलियो पेय पदार्थमा केही भन्सारदर लागे पनि त्यो पर्याप्त नभएको बताइएको छ ।
‘बजेज आउनु अघि करका विषयमा सरकारलाई थोरबहुत जानकारी होस भनेर नै हामीले ज्ञापन पत्र बुझाएका हौँ,’ गुरुङले भने ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

