अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बन्ने भयो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सिमित गर्ने निर्णय
96
Shares
सांकेतिक तस्बिर एआईको सहयोगमा तयार पारिएको हो ।

काठमाडौँ, ३० बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा परिवर्तन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार (कार्यविभाजन ) नियमावली -२०८३ स्वीकृत गरेसंगै मन्त्रालयको नाम फेरिने भएको हो ।

त्यसो त नियमावली स्वीकृत हुँदा संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटेर १८ मा सिमित भएको छ ।

कुन कुन मन्त्रालयको नाम फेरियो ? कुन कुन गाभियो ?

प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाइएको छ । तर अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत राखेको छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन्।

यस्तै प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान(प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ।

अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ।

यसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संशाधन मन्त्रालय रहने छन्।

त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ।

साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गाभिएको छ।

नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालय संख्या पुनरवलोकन गर्ने योजना अघि सारिएको थियो।

त्यही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ ले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *